निगमको २ थान नयाँ चिनियाँ जहाज आज नेपाल आउँदै, निजी वायुसेवा कम्पनीसँग प्रतिस्पर्धा



काठमाडौं । नेपाल वायुसेवा निगमले खरिद गरेको दुई थान चिनियाँ जहाज आज नेपाल आउँदै छ ।

नेपाल भित्र्याएको चार वटा चिनियाँ जहाजको उडानमा वार्षिक घाटा सहेरै भएपनि थप पुनः २ वटा चिनियाँ जहाज आज ल्याउन लागेको हो ।

नयाँ दुई जहाज थप भएसँगै निगमसँग आन्तरिक उडानको लागि अब ९ थान चिनियाँ जहाज हुदैैंछ । १७ सिट क्षमताका वाई-१२ ई दुईथान जहाज आज नेपाल आउन लागेको हो ।

आन्तरिक उडानमा एकछत्र बजार हिस्सा लिएका निजी क्षेत्रका एयरलाइन्स कम्पनीसंग प्रतिस्पर्धा गर्न सक्छ कि सक्दैन भन्ने टड्कारो प्रश्न यति वेला निगमलाई तेर्सिएको छ ।

दुईथान जहाज गत वर्ष नै नेपाल ल्याइएको थियो भने त्यसअघि दुईथान जहाज भने चीन सरकारले अनुदानस्वरुप नेपाललाई दिएको थियो ।

निगमले भएकै चारवटा जहाज उडानमा असन्तुष्ट भइरहेको भए पनि बाध्यत्मक व्यवस्थाका कारण थप दुई थान जहाज ल्याउने अन्तिम तयारी गरेको हो ।

विगत चार वर्षदेखि खरिद प्रक्रिया रहेको ६ थान चिनियाँ जहाजमध्ये ४ थान भने हाल सञ्चालनमा रहेका छन् ।

नेपालमा हाल ५६ सिट क्षमताका एमए–६० दुई थान र वाई १२ ई दुई थान जहाजले उडान भरिरहेका छन् । नेपालमा दुर्गम क्षेत्रमा उडान भर्न भन्दै ल्याइएको वाई १२ ई जहाजले पनि सुगम क्षेत्रमा नै उडान भरिरहेको छ ।

पाइलट र स्पेयर्स पार्ट्स सँधै अभाव खेपिरहेको चिनियाँ जहाज व्यवस्थापनमा निगमलाई विगत ५ वर्षदेखि हम्मेपर्दै आएको छ ।

‘विगतदेखिकै समस्या अझै समाधान नभएको अवस्था छ, तर पनि जहाज ल्याउनुपर्ने बाध्यता निगमलाई रहेको छ,’ नेपाल वायुसेवा निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंसाकारले भने ।

दुर्गम क्षेत्रमा उडान गर्न ल्याइएको वाई १२ ई जहाज अझै पनि सुगममै उडान भर्नुपर्ने बाध्यता रहेको कंसाकार बताउँछन् ।

‘हाम्रो प्रतिस्प्रर्धा निजी क्षेत्रसंगै गर्ने हो, केही सहज चिनियाँ पक्षले गरेमा प्रतिस्प्रर्धा गर्न सक्छौ,’ कंसाकारले भने ।

नेपाल सरकार र चीन सरकाबीचको कुटनीतिक सम्बन्धसँगै जहाज खरिद प्रक्रिया जोडिन पुगेपछि सरकार जसरी पनि जहाज ल्याउनैपर्ने बाध्यतामा थियो ।

नेपालले खरिद गर्ने भनेको चिनियाँ जहाज एभिक इन्टरनेसनल होल्डिङ कम्पनीले नेपाललाई जहाज दिन ४ वटै जहाज तयार गरिसकेको र ७० प्रतिशत रकम समेत नेपालले पठाइसकेकोले जहाज जसरी पनि ल्याउनै पर्ने अवस्थामा निगम पुगेको थियो ।

दुईथान जहाज गत वर्ष नै नेपाल ल्याइएको थियो भने त्यसअघि दुईथान जहाज भने चीन सरकारले अनुदानस्वरुप नेपाललाई दिएको थियो । चार थानमध्ये दुई थान जहाज गत वर्ष नै नेपाल ल्याइएको छ । चार वर्ष अगाडि नै चीनले एक एमए-६० र एक वटा वाई-१२ ई जहाज अनुदानमा दिएको थियो ।

चिनियाँ जहाज ६ वटा किन्न ६ अर्व ६७ करोड १० लाख रुपैयाँ अनुदान तथा सहुलियत ऋणमा निगमलाई एक्जिम बैंकमार्फत ऋण उपलव्ध गराइएको हो ।

उक्त रकममध्ये २ अर्ब ९४ करोड १० लाख रुपैयाँ एमए-६० र एउटा वाई-१२ ई अनुदानमा लिन उपयोग गरिने सम्झौता भएको थियो । यस्तै, बाँकी ३ अर्ब ७२ करोड ८० लाख रुपैयाँमा एउटा एमए ६० र तीनवटा वाई १२ ई जहाज ऋणमा खरिद गर्ने गरी ४ वर्ष अगाडि नेपाल सरकार र चीन सरकारबीच सम्झौता भएको थियो ।

चिनियाँ पक्षले स्पेयर्स पार्ट्स र पाइलटको समस्या समाधान गर्नसमेत तयार भएको थियो । तर पनि सबै समस्याको समाधान नभएको निगमको भनाइ छ ।

निगम व्यवस्थापनले, चिनियाँ जहाज उडाउँदा हुने घाटा चिनियाँ पक्षले बेहोर्नुपर्ने, जगेडा सामान १० वर्षसम्म निःशुल्क उपलब्ध गराउनुपर्ने, जहाजसम्बद्ध नियम सबै चिनियाँ भाषाको सट्टा अंग्रेजी भाषामा लेखिएको हुनुपर्ने, चालकदलको तालिम खर्च कटौती हुनुपर्ने निगमले बताउँदै आएको थियो ।

बिमा रकम कम हुनुपर्ने एवं जहाजले बोक्ने तौल बढी हुनुपर्ने सर्त पूरा भएमात्र बाँकी जहाज ल्याउने सर्त राखेको थियो । चिनियाँ पक्षले मागमा सकारात्मक भएको बताउँदै आए पनि ठोस उपलब्धी भने हालसम्म भएको छैन ।


क्लिकमान्डु