१३ महिनाको लागि नियुक्ति पाएका झा अब ५ बर्षसम्म अध्यक्ष हुने



Digambar Jha
काठमाडौं । सरकारले नेपाल दूरसंचार प्राधिकरण अध्यक्ष दिगम्बर झाको कार्यकाल पाँच वर्ष बनाउने निर्णय गरेको छ । केही समयअघि बसेको मन्त्रीपरिषद वैठकले अध्यक्ष झाको कार्यकाल पाँच वर्ष पुर्याउने निर्णय गरेको हो ।

सरकारले हालसम्म सो निर्णय औपचारिकरुपमा बाहिर नल्याएपनि सूचना तथा संचार मन्त्रालयमार्फत गएको प्रस्तावअनुसार सरकारले अध्यक्ष झाको कार्यकाल पाँच वर्षसम्मका लागि थप गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।

मन्त्रालयले प्राधिकरण अध्यक्ष झालाई पुन नियुक्त गरेको केही साताभित्रै उनको कार्यकाल पाँच वर्ष थप गर्ने प्रस्ताव मन्त्रीपरिषदमा पेश गरेको थियो ।

स्रोतकाअनुसार सरकारले सम्बन्धित मन्त्रालयको प्रस्तावअनुसार नै प्राधिकरण अध्यक्ष झाको कार्यकाल थप गर्न सहमति दिएको हो ।

यसअघि कात्तिक अन्तिम साता बसेको मन्त्रिपरिषदको बैठकले प्राधिकरणको अध्यक्ष पदमा झालाई अधिकतम ६५ वर्ष ननाध्ने गरी बढीमा ५ वर्षको लागि पुनः नियुक्तिको निर्णय गरेको थियो । त्यसबेला उमेर हद लाग्ने भन्दै अधिकतम उमेर हद ६५ वर्ष ननाध्ने गरि उनलाई नियुक्ती पत्र दिईएको थियो ।

मन्त्रालयले अध्यक्ष झालाई मंसिर १९ गतेदेखि लागू हुने गरि नियुक्तिपत्र दिएको थियो । पुनः नियुक्तिको पत्रअनुसार झाले प्राधिकरणमा करिब १३ महिना मात्र काम गर्न पाउने थिए ।

नयाँ निर्णयअनुसार भने उनले प्राधिकरणमा पाँच वर्षसम्म अध्यक्ष पदमा बहाल हुनेछन् । यसअघिको ६५ वर्षको उमेर हदभन्दा बढि उमेरसम्म नियुक्ति पाएपछि उनले ६९ वर्ष उमेरसम्म अध्यक्षको पद सम्हाल्ने छन् । पाँच वर्षको लागि दिईएको पत्रअनुसार उनले अब २०७९ मंसिरसम्म अध्यक्षमा काम गर्न पाउने भएका छन् ।

सूचना तथा संचार मन्त्रालय उच्च स्रोतले पनि प्राधिकरण अध्यक्ष झालाई ५ वर्षको पत्र दिईएको स्पष्ट पारेको छ ।

‘मन्त्रिपरिषदले गरेको निर्णयअनुसार नै उनलाई ५ वर्षको चिठी दिएका हौं, त्यसमा हामीले केही भन्न मिल्दैन्,’ स्रोतले क्लिकमाण्डूसँग भन्यो । झालाई करिब एक साताअघि मात्र ५ वर्षे कार्यकालको पत्र दिईएको हो ।

यसअघि पनि प्राधिकरणमा सदस्य तथा अध्यक्ष भएका व्यक्तिहरुले ६५ वर्षभन्दा बढि उमेर अवधिसम्म कार्य गरेको नजिरलाई देखाउँदै सरकारले अध्यक्ष झाको कार्यकाल थप गरेको स्रोतले दाबी गरेको छ ।

ऐनमा के छ ?
प्राधिकरण अध्यक्षको नियुक्तिको बारेमा दूरसंचार ऐनमा स्पष्टरुपमा उल्लेख गरिएको छ । सो ऐनमा अध्यक्ष तथा सदस्यको पदावधि पाँच वर्षको हुनेछ भन्ने उल्लेख छ । तर ऐनमा प्राधिकरणका अध्यक्ष तथा सदस्यहरुको उमेर हदको बारेमा केही उल्लेख छैन ।

अन्य सरकारी संस्थान तथा राजनीतिक नियुक्तिमा ६५ बर्ष उमेरसम्म मात्रै यस्तो नियुक्ति पाइने ब्यवस्था भएपनि प्राधिकरण ऐनमा त्यस्तो ब्यवस्था नभएकोले सरकारले झालाई ६९ बर्षसम्म काम गर्न पाउने गरी पत्र दिएको हो ।


क्लिकमान्डु