सौराहाको पर्यटक आगन्तुक केन्द्र पुनःसञ्चालन,वन्यजन्तु तथा वनस्पतिबारे सूचना पार्इने



चितवन । पाँच वर्षदेखि बन्द  रहेको चितवनको सौराहास्थित पर्यटक आगन्तुक केन्द्र आजदेखि पुनःसञ्चालनमा ल्याइएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज र यस क्षेत्रमा पाइने वन्यजन्तु तथा वनस्पतिबारे सूचना उपलब्ध गराइने सो केन्द्र पुनःसञ्चालन गरिएको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले सो केन्द्र शुभारम्भ गर्दै यसलाई अझै व्यवस्थित बनाउनुपर्नेमा जोड दिए। विश्व सीमसार दिवसका अवसरमा  आजबाट पुनःसञ्चालन गरिएको निकुन्जको पूर्वी सेक्टरमा रहेको उक्त सूचना केन्द्रबाट पर्यटकले निःशुल्क रुपमा सूचना लिन सकिन्छ ।

सो केन्द्रमा २०५० सालको बाढीले क्षति पु¥याएकामा गएको साउनको बाढीले थप डुबानमा पारेको र उचित मर्मत नहुँदा ओझेलमा परेको थियो ।

अब भने नियमितरुपमा यसलाई सञ्चालन गर्ने चितवन निकुञ्ज पूर्वी सेक्टर कार्यालयका प्रमुख अभिनय पाठकले बताए । करिब तीन लाख रुपैयाँको लागतमा केन्द्र सञ्चालनमा ल्याइएको उनले जानकारी दिए।

यो केन्द्रमा चितवन निकुञ्जको वस्तुस्थितिका साथै वन्यजन्तु, गैंडा, अर्नाको स्थानान्तरणको सूचना र सीमसारका जीवबारे जानकारी पाइन्छ । वन्यजन्तु अपराध सम्बन्धी कानूनी व्यवस्था, संरक्षण र अपराध विरुद्ध सूचना दिनेलाई पुरस्कारका दिने कुरालगायत सूचना पनि यहाँ छ ।

केन्द्रमा गैँडा, गौरीगाई, मृग, अर्ना, बाघको पञ्जालगायत वन्यजन्तुका अखेटोपहार समेत राखिएको छ ।

पर्यटन व्यवसायी तथा संरक्षणकर्मी वासु ढुंगाना, टीका गिरी तथा सदर चिडियाखाना जाउलाखेलका प्रमुख डा चिरञ्जीवी पोखरेलले सूचना केन्द्रलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

यसैबीच वश्व सीमसार दिवसको अवसरमा आज सौराहामा सरसफाइ कार्यक्रम गरिएको बाघ संरक्षण उपसमितिका संयोजक जितु तामाङले जानकारी दिउ । यहाँ तीन दिने कार्यक्रमसहित सीमसार दिवस मनाइँदै छ ।


क्लिकमान्डु