दुई हप्ता भित्रै निगमका दुई थान चिनियाँ जहाज



काठमाडौं । नेपाल वायुसेवा निगमले थप दुई थान चिनियाँ जहाज ल्याउन चीन गएको छ । निगमले दिएको जानकारी अनुसार बढीमा दुई साता भित्रै दुईथान चिनियाँ जहाज नेपाल ल्याउन लागिएको हो ।

नेपाल भित्र्याएको चार वटा चिनियाँ जहाजको उडानमा वार्षिक घाटा सहेरै भएपनि थप पुनः २ वटा चिनियाँ जहाज ल्याउन निगम टोली चीन गएको हो । निगमले १७ सिट क्षमतका दुई थान वाई–१२ ई जहाज नेपाल ल्याउने छ ।

निगमले भएकै चारवटा जहाज उडानमा असन्तुष्ट भइरहेको भए पनि बाध्यत्मक व्यवस्थाका कारण थप दुई थान जहाज ल्याउने अन्तिम तयारी गरेको हो । विगत चार वर्षदेखि खरिद प्रक्रिया रहेको ६ थान चिनियाँ जहाजमध्ये चार थान भने हाल सञ्चालनमा रहेका छन् ।१७ सिट क्षमताका वाई–१२ ई जहाज दुईसाता भित्रै नेपाल ल्याउने गरी निगम व्यवस्थापनले लागेको हो ।

नेपालमा हाल ५६ सिट क्षमताका एमए–६० दुई थान र वाई १२ ई दुई थान जहाजले उडान भरिरहेका छन् । नेपालमा दुर्गम क्षेत्रमा उडान भर्न भन्दै ल्याइएको वाई १२ ई जहाजले पनि सुगम क्षेत्रमा नै उडान भरिरहेको छ ।

प्राविधिकहरुको टोली चीन गएको र छिट्टै दुई थान चिनियाँ जहाज नेपाल ल्याउने निगमका प्रवक्त रविन्द्र श्रेष्ठले जानकारी दिए । पाइलट र स्पेयर्स पार्ट्स सँधै अभाव खेपिरहेको चिनियाँ जहाज व्यवस्थापनमा निगमलाई विगत पाँच वर्षदेखि हम्मे पर्दै आएको छ ।
‘विगतदेखिकै समस्या अझै समाधान नभएको अवस्था छ, तर पनि जहाज ल्याउनुपर्ने बाध्यता निगमलाई रहेको छ,’ प्रवक्त श्रेष्ठले भने । दुर्गम क्षेत्रमा उडान गर्न ल्याइएको वाई १२ ई जहाज अझै पनि सुगममै उडान भर्नुपर्ने बाध्यता रहेको श्रेष्ठ बताउँछन् ।

नेपाल सरकार र चीन सरकाबीचको कुटनीतिक सम्बन्धसँगै जहाज खरिद प्रक्रिया जोडिन पुगेपछि सरकार जसरी पनि जहाज ल्याउनैपर्ने बाध्यतामा थियो ।
नेपालले खरिद गर्ने भनेको चिनियाँ जहाज एभिक इन्टरनेसनल होल्डिङ कम्पनीले नेपाललाई जहाज दिन ४ वटै जहाज तयार गरिसकेको र ७० प्रतिशत रकम समेत नेपालले पठाइसकेकोले जहाज जसरी पनि ल्याउनै पर्ने अवस्थामा निगम पुगेको थियो ।

दुईथान जहाज गत वर्ष नै नेपाल ल्याइएको थियो भने त्यसअघि दुईथान जहाज भने चीन सरकारले अनुदानस्वरुप नेपाललाई दिएको थियो । चार वर्ष अगाडि नै चीनले एक एमए–६० र एक वटा वाई–१२ ई जहाज अनुदानमा दिएको थियो ।
चिनियाँ जहाज ६ वटा किन्न ६ अर्व ६७ करोड १० लाख रुपैयाँ अनुदान तथा सहुलियत ऋणमा निगमलाई एक्जिम बैंकमार्फत ऋण उपलव्ध गराइएको हो ।

उक्त रकममध्ये २ अर्ब ९४ करोड १० लाख रुपैयाँ एमए–६० र एउटा वाई–१२ ई अनुदानमा लिन उपयोग गरिने सम्झौता भएको थियो । यस्तै, बाँकी ३ अर्ब ७२ करोड ८० लाख रुपैयाँमा एउटा एमए ६० र तीनवटा वाई १२ ई जहाज ऋणमा खरिद गर्ने गरी ४ वर्ष अगाडि नेपाल सरकार र चीन सरकारबीच सम्झौता भएको थियो ।


क्लिकमान्डु