नुवाकोटको विदुरमा शुरु भयो हाटबजार, पहिलो दिननै ५ लाखको कारोवार



नुवाकोट । स्थानीय उत्पादनको प्रबद्र्धन गर्नका लागि सदरमुकाम विदुरमा सोमबारे हाटबजारको शुरुआत गरिएको छ ।
हरेक हप्ताको सोमबार सञ्चालन हुने हाटबजारको सोमबार प्रजिअ वीरेन्द्रकुमार यादवले उद्घाटन गरे ।

बजारको उद्घानगर्दै प्रजिअ यादबले भने ‘स्थानीयस्तरमा उत्पादन भएका वस्तुको बजारीकरण तथा उपभोक्ता र उत्पादक किसानबीचको दूरी कम गर्ने सहज उपाय नै हाट बजार भएकाले हाटबजारमा धेरै उत्पादक र उपभोक्ताको सहभागिता रहने वातावरण बनाउनु पर्छ ।’

कार्यक्रममा विदुर नगरपालिकाका उपप्रमुख गीता दाहालले किसानले खेतमा उत्पादन गरेका अनाजले बिचौलियाका कारण उचित बजार नपाइरहेका समयमा हाट बजारले सहयोग गर्ने बताइन् ।

जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी केशरबहादुर पण्डितले जिल्लामा उत्पादन भएका कृषि तथा पशुको नुवाकोटमै पर्याप्त बजार रहकाले यस्ता हाटबजार निरन्तर रुपमा सञ्चालन गर्न सकेमा किसानलाई बढी लाभान्वित हुने बताए ।

नुवाकोट उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष शरणउत्सुक सापकोटाले हाट बजार सञ्चालनका लागि शुुरुमा सहयोग गर्ने संघसंस्थालाई निरन्तरता दिनका लागि आग्रह गरे ।

नुवाकोट उद्योग वाणिज्य संघ, जिल्ला समन्वय समिति, जिल्ला कृषि विकास कार्यालय, विदुर नगरपालिका, जिल्ला पशु विकास कार्यलय र सुआहारा कार्यक्रमको संयुक्त आयोजनामा हाटबजार शुरु गरिएको हो ।

हाट बजारमा कृषि उपज दूध, दही, घिउ, च्याउ, काउली, मह, माछामासु र सबै प्रकारका कृषि उत्पादन राखिएको छ । हाट बजार सञ्चालनका लागि विभिन्न निकायको सहयोगमा इलम प्रशिक्षण केन्द्र परिसर विदुरमा १७ लाख ९२ हजार रुपैयाँमा स्थायी कक्ष निर्माण गरिएको छ ।

पहिलो दिनको हाटबजारमा ५ लाख रुपैयाँको कारोवर भएको नुवाकोट उद्योग वाणिज्य संघका प्रवक्ता सन्तोष उप्रेतीले जानकारी दिए । रासस


क्लिकमान्डु