नार्कद्वारा धान र मकैसहित उन्नत जातका बीउको विकास



काठमाडौं । कृषि अनुसन्धान परिषद् (नार्क)ले विभिन्न नयाँ जातका उन्नत किसिमका अन्नबालीको बीउको विकास गरेको छ ।

परिषद्ले मकै, धान, गहुँ, तोरी, मुसुरोलगायत अन्नबालीका नयाँ उन्नत जातका बीउको विकास गरेको परिषद्का वरिष्ठ वैज्ञानिक टीकाबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार मकैमा वसन्त मकै, बर्खे मकै, अरुण–३, अरुण–४ र अरुण–६, मनकामना–३, मनकामना–४, मनकामना–५ र मनकामना–६  जातका बीउ तयार गरिएको छ । मनकामना जातका मकैको बीउ उच्च पहाडी क्षेत्रका लागि तयार पारिएको हो ।

वसन्त मकै माघ फागुनमा रोपेर जेठ असारमा पाक्ने र बर्खे मकै असारमा रोपेर असोजमा पाक्ने खालका रहेका छन् । जोर नाम भएका मकै रातो र बिजोर नाम भएका मकै सेतो रहेका छन् ।

किसानको माग र मौसमअनुसारको अन्नबाली लगाउनका लागि नयाँ जातका बीउ तयार गरिएको उनले बताए।

‘जलवायु परिवर्तनसँगै पुराना अन्नबाली त्यति फल्ने नभएकोले नयाँ अन्नबालीको विकास गर्न गरिएको हो,’ उनले भने, ‘नयाँ विकास भएका अन्नबाली अब किसानले लगाउन सक्ने छन् ।’

नार्कले विकास गरेर नयाँ उन्नत जातका बीउ विभिन्न ठाउँमा रहेका विकास केन्द्रमार्फत किसानलाई वितरण गर्नेछ । यस्तै सुख्खा र बाढीको समस्या हुने ठाउँमा उत्पादन हुने धानका नयाँ उन्नत जातका बीउ पनि नार्कले तयार पारेको छ ।

तोरीमा लुम्ले, अदुवामा कपुरकोट र कपुरकोट–१ नामका बीउ  विकास गरिएको छ । सुख्खायाममा सुख्खा–३, सुख्खा–४, सुख्खा–५ रहेका छन भने बाढीको समस्या भएको ठाउँका लागि स्वर्ण सव–१ र सेरान सव–१ जातका बीउ रहेका छन् ।

वरिष्ठ वैज्ञानिक कार्कीले नयाँ जातका बीउ खेतमा लगेर परीक्षण गरेर तयार पारिएको बताए ।

यस्तै गहुँमा च्याखुरा, स्वर्गद्वारी, विजय र अन्नपूर्ण नामका नयाँ उन्नत जातका बीउ रहेका छन् । मसुरोमा संखर, सिमल, शिखर र सिन्धुर जातका बीउ रहेका छन् । नार्कले विश्व बैंकको कृषि तथा खाद्य सुरक्षा योजनाअन्तर्गत सन् २०१३ देखि नेपालको वातावरण अनुकूल नयाँ उन्नत जातका बीउ उत्पादन गर्दै आएको छ ।


क्लिकमान्डु