अन्नपूर्ण आधार शिविरसम्म बन्ला केवलकार ?



काठमाडौं । गत मंसिरमा सम्पन्न भएको प्रदेश सभा र संघीय संसदको चुनावको पूर्व सन्ध्यामा नयाँ शक्ती पार्टीका संयोजक बाबुराम भट्टराईले चुनावी घोषणा पत्रमा सगरमाथा बेस क्याम्पसम्म केबल कार लैजाने विषय समावेश गरेका थिए ।
उक्त विषयलाई धेरैले मजाकको विषय समेत बनाएका थिए । तर पछिल्लो समय हिमाली क्षेत्रहरुको चर्चित गन्तव्यहरुमा केवलकारका सम्भाव्यता अध्ययन भने सुरु भएका छन् ।

पछिल्लो समय अन्नपूर्ण हिमश्रृंखलाको फेदीमा केलबकार चलाउन सम्भाव्यता अध्ययन सुरु भएको छ । मादी गाउँपालिकाले वडा नम्बर १ सिक्लेसको भुकुल्चादेखि कोरीसम्मको केबलकारको सम्भाव्यता अध्ययन सुरु गरेको हो ।

अन्नपूर्ण हिमालको उचाई ८ हजार ९१ मिटर रहेको छ । सुरु गरिएको अध्ययन अनुसार ४ हजार १ सय ३० मिटर उचाईमा रहेको अन्नपूर्णको हिमालको आधार शिविरको नजिकै रहेको कोरी सम्म केबल कार बन्ने छ ।

पर्यावरणलाई प्रतिकुल असर नपर्ने गरी केबलकारको सुविधा उपलब्ध गराउन सम्भाव्यता अध्ययन सुरु गरिएको जनाइएको छ । केही दिन अगाडी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारीसंग गाउँपालिकाकै मुख्य प्रमुख वेदबहादुर गुरुङले छलफल समेत गरेर फर्किएका छन् ।

करिब १ हजार ५ सय ४० मिटरको उचाइमा रहेको भुकुल्चाबाट ३ हजार ८ सय मिटरको उचाइमा रहेको कोरीसम्म करिब साढे ६ किलोमिटर लामो केबलकारको सम्भाव्यता अध्ययन सुरु गरिएको हो । उक्त केबरकार निर्माण हुन सकेमा बार्षिक ५० लाख भन्दा बढी स्वदेशी र विदेशी पर्यटन त्यसतर्फ लैजान सकिने अनुमान समेत गरिएको छ ।

अन्नपूर्ण आधार शिविरमा अहिले पनि धेरै खर्च गर्ने पर्यटकहरु पोखराबाट हेलिकप्टरमा जाने गरेका छन् । केबलकार बनाउन सकेमा विश्वमै नमुना पूर्वाधार हुने दावी समेत गरिएको छ ।

केवलकारको सम्भाव्यता अध्ययनको लागि गाउँपालिकाले क्युविक इन्जिनियरिङ कन्सल्टेन्सी प्रालिसँग सम्झौता गरेको भइसकेको छ । योजना सफल भएमा वन्यजन्तुहरु हेर्न, हिउँ छोएर हिमालको अवलोकन गर्न पर्यटकले पाउने छन् ।


क्लिकमान्डु