निर्यात सूचीमा कफी तथा चिया पहिलो स्थानमा, आयात पनि करिब समान मूल्यकै



काठमाडौं । नेपालबाट निर्यात हुने वस्तु तथा सामाग्रीहरुको सूचीमा पछिल्ला वर्षहरुमा कफी तथा चियाको मात्रा बढिरहेको छ । चालु आर्थिक वर्ष २०७४ ।२०७५ को पहिलो पाँच महिनाको आयात निर्यातको तथ्यांक हेर्दा पनि निर्यात हुने वस्तुको पहिलो सूचीमा कफी तथा चिया रहेको छ ।
हालै भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक हेर्दा चालु आवको पहिलो पाँच महिनामा मात्रै ३ अर्ब ७१ करोड रुपैयाँ भन्दा बढिको कफी तथा चिया निर्यात भएको छ । जसमा कफी, चिया तथा सोहि प्रकारका वस्तुहरु रहेका छन् ।

चालु आर्थिक वर्ष २०७४ ।२०७५ को सो अवधिमा नेपालबाट कफी तथा चिया निर्यात हुने मात्र नभई आयात भएको पनि देखिन्छ । सो अवधिमा नेपालमा विभिन्न मुलुकहरुबाट ३ अर्ब ४७ करोड रुपैयाँ भन्दा बढिको कफी तथा चिया आयात भएको भन्सारको तथ्यांकमा उल्लेख छ ।

कफी तथा चियाको आयात निर्यातको तथ्यांक हेर्दा दुबैको हिस्सा करिब बराबरी नै रहेको देखिन्छ । अर्थात जति परिमाणमा आयात हुन्छ त्यति परिमाणमा नै निर्यात भएको छ । अझ स्पष्टरुपमा हेर्दा कफीको निर्यात आयातको तुलनामा २४ करोड रुपैयाँले मात्र अधिक रहेको देखिन्छ ।

सो अवधिमा नेपालभित्र आयात हुने कफी तथा चियाजन्य वस्तुहरुको मात्रा १ लाख ९० हजार केजी भन्दा अधिक देखिन्छ । त्यस्तै सोहि अवधिमा नेपालबाट निर्यात हुने कफी तथा चियाजन्य वस्तुहरुको मात्रा ७७ लाख १० हजार केजीको हाराहारीमा रहेको तथ्यांकमा देखिन्छ ।

नेपालबाट निर्यात हुने कफी तथा चियाको मात्रा अधिक भएपनि मूल्यको हिसावले तुलनात्मकरुपमा निकै कम देखिन्छ ।

नेपालबाट कफी अस्ट्रेलिया, क्यानाडा, चीन, फ्रान्स, जर्मनी, इटली लगायतका यूरोपेली मुलुकहरुमा निर्यात हुने गरेको छ । त्यस्तै कतार, जापान, कोरिया, अमेरिका, सिंगापुर, थाईल्याण्ड जस्ता मुलुकहरुमा जाने गरेको छ । नेपालको चियाको बजार हेर्दा बेल्जियम, फ्रान्स लगायतका केहि यूरोपेली मुलुकहरु छन भने चेक रिपब्लिक, कोरिया, जापान, क्यानाडा, अमेरिका, रसिया, चीन, सिंगापुर, कतार, यूएई जस्ता देशअरुमा निर्यात हुने गरेको छ ।

कफी तथा चिया आयात हुने मुलुकहरुमा भने चीन, भारत, थाईल्याण्ड, बेलायत, ब्राजील, मलेशिया, श्रीलंका, कोरिया, चेक रिपब्लिक, यूएई, जस्ता मुलुकहरु रहेका छन् ।


क्लिकमान्डु