गोल्छा समूहको लगानीमा खुलेको भ्याक्सिन उद्योगले सुरु गर्यो निर्यात



काठमाडौं । भारतीय पशु–पक्षीजन्य खोप उत्पादन कम्पनी हेस्टर बायोसाइन्सेज (एचबिएल) र गोल्छा समूहको लगानीमा खुलेको हेस्टर बायोसाइन्सेस् नेपालले उत्पादन सुरु गरेको छ ।

काभ्रेको उग्रचण्डीमा स्थापन भएको उद्योगले ३७ प्रकारका पशु तथा पक्षीजन्य खोप उत्पादन सुरु गरेको हो ।

कम्पनीको उत्पदान नेपालमा मात्रै नभई विदेशमा पनि निर्यात सुरु गरिसकेको छ ।

‘हामीले अहिलेसम्म करिब ५ करोड रुपैयाँ बराबरको उत्पादन निर्यात गरिसकेका छौं ।’ कम्पनीका संचालक शेखर गोल्छाले क्लिकमाण्डुसँग भने ।

कम्पनीले सन् २०१६ को डिसेम्बर महिनाबाट ट्रायल उत्पादन सुरु गरेको थियो । अहिले एउटा प्रडक्ट पूर्णरुपमा उत्पादन गरि निर्यातसमेत सुरु गरेको गोल्छा बताउँछन् ।

कूल उत्पादनको ४ देखि ५ प्रतिशत नेपालमा खपत हुने र बाँकी सबै निर्यात हुनेछ । यो कम्पनी नेपालबाट भ्याक्सिन निर्यात गर्ने पहिलो कम्पनी भएको छ ।

भारतको एचबिएल र गोल्छा समूहको हिम इलेक्ट्रोनिक्सको संयुक्त लगानीमा स्थापित यो उद्योग बायोटेक्नोलोजीमा आधारित पहिलो पशु खोप उद्योग पनि हो ।

यसमा हिम इलेक्ट्रोनिक्सको ३५ प्रतिशत र एचबिएलको ६५ प्रतिशत लगानी छ।

यसको सम्पूर्ण प्राविधिक काम एचबिएलले र व्यवस्थापकीय काम गोल्छा समूहले गरिरहेको छ ।

कूल २५ रोपनी क्षेत्रफलमा फैलिएको उद्योगमा आधुनिक र हाइटेक प्रविधिमा जडान गरिएको छ ।

कम्पनीले पहिलो चरणमा पशुबस्तुका स्वाइन फिभर, पीपीआर भ्याक्सिन उत्पादन गरिरहेको छ ।

यस्तै, उद्योगले कुखुराका लागि साल्मोनेल्ला एस्जिनाइनआर, आइबी, मरेक्स एचभिटी र मरेक्स रिस्पेन्सको उत्पादन भइरहेको जानकारी कम्पनीले दिएको छ । अब छिट्टै विक्रीका लागि बजारमा जाने कम्पनीले जानकारी दिएको छ ।

नेपाललाई पशु खोपमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको कम्पनीले ३७ थरि भ्याक्सिन उत्पादनको अनुमति लिएको छ । अहिले अधिकाशं उत्पादनहरु ट्रायल फेजमा छन् ।

९० प्रतिशत स्वदेशी कच्चा पदार्थको प्रयोग हुने यस उद्योगले आफ्ना उत्पादन ग्लोवल टेन्डरमा प्रतिस्पर्धा गरेर निर्यात गर्ने गरेको छ ।

हावा र तापक्रम मिलाएर भवन निर्माण गर्नु परेकाले उद्योगको मुख्य लगानी ‘एयर ह्यान्डलिङ’ मा भएको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु