दूध बेचेरै गाउँलेहरु कमाउँछन करोड रुपैयाँ



म्याग्दी । बेनी नगरपालिका–४ सिंगाका युवाले गाउँमा पशुपालन गरेर दूध बिक्रीबाट वार्षिक एक करोड रुपैयाँ बराबरको कारोबार गरेका छन् ।

उनीहरुले दूध बिक्री गरेर मासिक ४० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म आम्दानी गर्दैआएका छन् । कतारबाट फर्किएर गाउँमा भैँसीपालन गर्दैआएका बेनी नगरपालिका–४ का मनबहादुर खत्रीले दूध बिक्रीबाट अहिले मासिक एक लाख रुपैयाँभन्दा बढी कमाउन थालेका छन् ।

उनले २०६८ सालमा एक लाख रुपैयाँको लगानीमा दुईवटा भैंसी खरिद गरेका थिए । दूधबाट मनग्य आम्दानी हुने देखेपछि केसीले अहिले ६ वटा भैँसी र एउटा उन्नत जातको जर्सी गाई पालेका छन् । उनले दैनिक ७० लिटर दूध बिक्री गर्छन् ।

केसी मात्रै होइन गाउँका ३० जना युवाले व्यावसायिक रुपमा दूध बिक्री गरेर घरमै बसीबसी प्रतिव्यक्ति मासिक एक लाख रुपैयाँ भन्दा बढी कमाई गर्दै आएका छन् । गाउँमा जनभावना दुग्ध सहकारी संस्थाको स्थापना भएपछि सो सहकारीमार्फत तीन सय लिटर र किसानले व्यक्तिगत रुपमा १५० लिटर दूध बजारमा बिक्री गर्दैआएका छन् ।

सहकारीका सञ्चालक कोपिलाल पौडेलका अनुसार अहिले बजारमा दूध प्रतिलिटर ८५ रुपैयाँमा बिक्री भइरहेको छ । किसानले प्रतिलिटर ६५ रुपैयाँमा सहकारीलाई दूध बेच्दै आएका छन् ।

‘गाउँबाट एउटै किसानले दैनिक ५५ लिटरसम्म दूध बेच्ने गरेका छन्,’ उनले भने, ‘बयालिस घरधुरीले व्यावसायिक रुपमा गाई-भैंसीपालन गर्दैआएका छन् ।’

जिल्ला पशुसेवा कार्यालयबाट नमूना सहकारीको पुरस्कारसमेत प्राप्त गरेको सो सहकारीले संकलन गरेको दूधलाई बजार लैजान कर्मचारी परिचालन गरिएको छ । सहकारीमार्फत दूध बेच्ने किसानलाई सहकारीकै खातामा पैसा जम्मा गर्ने व्यवस्था मिलाइएको छ ।

सहकारीले लगानीसमेत गर्ने भएकाले किसान सहकारीको अभियानतर्फ आकर्षित भएका छन् ।


क्लिकमान्डु