नेपाल र चीनबीच व्यवसायीकरुपमा इन्टरनेट शुरु, १.५ जीबीपिएस दरमा सम्पर्क



काठमाडौं। नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबल बीच क्रसबोर्डर अप्टिकल फाइबर लिंक जोडिएको छ । टेलिकम र चाइना टेलिकम ग्लोबल बीच क्रस बोर्डर अप्टिकल फाइबर लिंक शुरु भएसँगै भारतसँग मात्रै रहेको  नेपालकाे इन्टरनेट निर्भरता हटेको छ ।

आज शुक्रबार एक कार्यक्रमका बीच टेलिकम र चाइना टेलिकम ग्लोबलबीच क्रस बोर्डर अप्टिकल फाइबर लिङ्क व्यवसायीकरुपमा शुरु भएको घोषणा गरियो ।

सूचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेतले दुई देशबीच जोडिएको इन्टरनेट सेवा शुरु गरे ।

कार्यक्रममा मन्त्री बस्नेतले इन्टरनेटमार्फत दुई देश जोडिनु नेपालको लागि समेत टर्निग प्वाइन्ट भएको बताए । उनले आगामी दिनमा जलविद्युत विकास र रेलवे सम्पर्कमार्फत थप सम्बन्ध बिस्तार हुने आशा व्यक्त गरे ।

त्यसैगरि कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत युङ्ग होङ्गले नेपाल टेलिकम र चाइना टेलिकमबीच शुरु भएको इन्टरनेट सेवाले आगामी दिनमा दुबै देशलाई नजिक ल्याउने बताईन् । राजदूत होङ्गले इन्टरनेट सम्बन्धमार्फत दुई कम्पनीहरुबीच व्यवसायीक सम्बन्ध बिस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिन् ।

यसअघि नेपाल टेलिकमले चीनसँगको अन्तरदेशीय इन्टरनेट लिंकको सफल परीक्षण गरिसकेको थियो। नेपाल र चीनबीच इन्टरनेट कनेक्टिभिटीका लागि चाइना टेलिकम ग्लोबल र नेपाल टेलिकमबीच सन् २०१६ डिसेम्बर ६ तारिखमा व्यावसायिक सम्झौता भएको थियो ।

रसुवागढी नाका भएर नेपालमा चीनको इन्टरनेट सञ्जाल जोडिएको हो । करिब एक वर्षअघि चीनसँग इन्टरनेट संजाल जोडिने बताइँदै आईएको थियो। तर छिमेकी मुलुक चीनतर्फ अप्टिकल फाईबरमा समस्या आएको कारण सो कार्यमा ढिलाई हुँदै आएको थियो ।

यसअघि सन् २००३ मा नै अरनिको राजमार्ग अन्तर्गत काठमाडौंदेखि खासा झाङमुसम्म १५५ किलोमिटर अप्टिकल फाइबर बिछ्याउने कार्य सम्पन्न भएको थियो । सोहि अप्टिकल फाइबरलाई प्रयोग गर्र्ने गरि झाङमु र तातोपानीबीच ट्रान्सपोर्ट नेटवर्क इन्टरकनेक्सन गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

तातोपानी हुँदै नेपाल र चीन बीच इन्टरनेट जोडिने तयारीका बीच नेपालका गएको भूकम्पका कारण सो रुट पूर्णरुपमा क्षतिग्रस्त भएपछि नर्याँ वैकल्पिकरुटको रुपमा रसुवागढी हुँदै इन्टरनेट जोडिएको हो ।

गत भदौमा नै सो इन्टरनेट सेवा संचालनमा ल्याउने तयारी टेलिकमले गरेको थियो ।

सो इन्टरनेट नेटवर्क संचालनमा आएसँगै चीन हुँदै हङकङसँग इन्टरनेटमा आवद्ध हुन पनि यसले सहयोग गर्ने जानकारी दिईयो । चीनसँग नेटवर्क जोडिएपछि प्रतिस्पर्धाको आधारमा भारतको एकाधिकार समेत तोडिएको छ ।

चीनसँग जोडिएको इन्टरनेट संजाल टेलिकमका लागि न्यून लागतको भएको, लो ट्रिप डिले र अल्टरनेटिभ रुटको रुपमा प्रयोग गर्न सकिने जानकारी दिईयो ।

हाल टेलिकमले भारतीय कम्पनीहरु टाटा, एयरटेल, बीएसएनएल र रिलायन्सबाट २५ जीबी प्रति सेकेण्डको इन्टरनेट भित्र्याईरहेको छ। भारतबाट ल्याइएको इन्टरनेट भैरहवा, बिराटनगर र वीरगन्ज नाकाबाट अप्टिकल फाइबरमार्फत ल्याइएको छ।

चीनबाट भित्र्याईएको इन्टरनेट भने १.५ जीबी प्रति सेकेण्डको भोल्यूममा जोडिएको छ।

टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले चीनसँगको इन्टरनेट सम्पर्क कम्पनीका लागि कोशेढुङ्गा भएको र यसले व्यवसायीक परियोजनाको नयाँ संभावना उजागर गरेको बताईन् ।

हाल सो नाकाबाट आएको इन्टरनेट ५६२ एमबी प्रति सेकेण्डको दरमा प्रयोग भईरहेको कार्यक्रममा जानकारी दिईएको थियो ।


क्लिकमान्डु