डा केसीलाई पक्राउ गरी अदालतमा पेश गर्न सर्वोच्चको आदेश



फाइल

काठमाडौँ । सर्वोच्च अदालतले अवहेलनाको मुद्दामा वरिष्ठ चिकित्सक डा गोविन्द केसीलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ ।

न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजालसले आज अवहेलनाको मुद्दामा डा केसीलाई मंगलबार बिहान अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको नाममा आदेश जारी गरेको हो ।

आदेशमा ‘अदालतबाट भएको फैसलाविरुद्ध अमर्यादित, अशिष्ट र अदालतको अवहेलनाजनक अभिव्यक्ति गरेको देखिँदा निज डा केसीलाई अदालतको अवहेलनामा किन कारबाही गर्नु नपर्ने हो ? निजलाई पक्राउ गरी पुस २५ गते बिहान ९ बजे अदालतमा हाजिर हुन उपस्थिति गराउनू’ भनिएको छ ।

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानको डीन प्रा डा शशी शर्मालाई आइतबार पुनःवहाली गराउने अदालतको फैसलाविरुद्ध डा केसीले आजदेखि अनसन शुरु गरेका थिए।

आज अनसन शुरु गर्नुअघि आयोजित पत्रकार सम्मेलनमा डा केसीले न्यायमा किनबेच भएको आरोप लगाउँदै प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामाको समेत माग गरेका थिए।


क्लिकमान्डु