मनाङमा माइनस १६ डिग्री तापक्रम, पिउने पानीका मुहान जमे



मनाङ । देशभरि नै चिसो बढेका बेला मनाङमा भने माइनस १६ डिग्री तापक्रम पुगेको छ ।

रातिको बेला परेको शीत जमिनमा बरफ बनेको छ ।  मनाङमा अहिले काम गर्ने कामदार र सरकारी कार्यालयका कर्मचारी मात्र देखिने गरेका छन् । पिउने पानीका मुहान जमेका छन् । खोलामा पानी होइन बरफ चिप्लेको देखिन्छ ।

अत्यधिक चिसो बढेपछि यहाँ रहेका बासिन्दा घरबाट बाहिर निस्कन सकेका छैनन् । सबैजसो ढोका लगाएर घरभित्रै बस्ने गरेका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए ।

बाह्रै महिना चिसो हुने मनाङ जिल्लामा जाडोको समयमा प्रायः बासिन्दा जाडो छल्न अन्यत्र ठाउँमा जाने गर्दछन् । यो समयमा गाउँ घरमा घर कुर्ने चौँरी हेर्ने र हिउँ फाल्ने बासिन्दा मात्र बस्ने गर्दछन् ।

जाडो छल्नका लागि यहाँका बासिन्दा काठमाडौं, पोखरा, चितवनलगायत भारतको बुद्धगया जाने गर्दछन् । गाउँघरको सबै कामकाज सकेर व्यापारिक प्रयोजनका लागि धुपी जुम्भु पाँचऔँलेलगायतका जडीबुटी लिएर जाने गर्दछन् ।

मंसिरको अन्तिम साताबाट मनाङ सुनसान हुने भएकाले अक्सर गरेर माथिल्लो मनाङका विद्यालय वर्षैपिच्छे जाडोको मौसममा तीन महिना बन्द हुने गरेको जिल्ला शिक्षा अधिकारी टुकराज अधिकारीले बताए।


क्लिकमान्डु