रासायनिक मलको विकल्प खोज्दै किसान



धनगढी । असन्तुलितरुपमा डिएपी र युरियाजस्ता रासायनिक मलको प्रयोगले उर्बर माटो बिग्रिन थालेको भन्दै कैलाली जिल्लाका किसानले यसको विकल्पमा सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मलको खोजी गर्न थालेका छन् ।

बालीमा डिएपी र युरिया मलको असन्तुलित एवं जथाभावीरुपमा भइरहेको प्रयोगले माटोमा अम्लियपन बढ्दै जाँदा यसबाट उर्बर माटो बिग्रिएर उत्पादनमा समेत नकारात्मक असर देखिन थालेकाले आफूहरुले सिंगल सुपर फस्फेट (एसएसपी) र एमोनियम सल्फेट प्रयोग गर्न थालेको कैलाली गदरियाका किसान रामसमझ चौधरीले बताए ।

‘डिएपी र युरियाजस्ता रासायनिक मलको विकल्पमा सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट प्रयोग गर्दा माटोको उर्वराशक्ति बढाएको छ,’ एसएसपी मल र सिंगल सुपर फस्फेट मल प्रयोग गरी खेती गरिरहेका चौधरीले भने, ‘यो मल प्रयोग गर्दा माटो पनि नबिग्रिने र उत्पादन पनि राम्रै देखिएको छ ।’

रासायनिक मलमा बालीलाई आवश्यकपर्ने क्याल्सियम र सल्फर तत्व नहुने तर नाइट्रोजन र फोस्फोरसको मात्रा चाहिनेभन्दा बढी हुन्छ । जसका कारण बालीले खपत गर्न नसकेको नाइट्रोजन तत्व माटोमा मिसिन गई माटोमा अम्लियपन हुने गरेको कृषि प्राविधिकहरु बताउँछन् ।

सरकारले अनुदानमा डिएपी, युरिया र पोटास मल बिक्री वितरण गर्दै आएको छ । अनुदानमा किसानले पाउने यो मल कति जग्गामा कति परिमाणको र कति बेला मल प्रयोग गर्ने भन्ने जानकारी अधिकांश किसानलाई नहुँदा जथाभावी र असन्तुलितरुपमा यो मलको प्रयोग हुदै आएको छ ।

बालीलाई नाइट्रोजन १८ देखि २१ प्रतिशत भए पुग्नेमा प्रयोग हुँदै आएको युरिया मलमा चाहिनेभन्दा बढी ४६ प्रतिशतसम्म नाइट्रोजन तत्व हुन्छ ।

‘सरकारको अनुदानमा बिक्री वितरण हुँदै आएको डिएपी मलमा बालीलाई आवश्यकपर्ने सल्फर, क्याल्सियम तत्व हुँदैन, युरिया मलमा पनि केवल नाइट्रोजन तत्व मात्र हुन्छ,’ साल्ट ट्रेडिङ कर्पोरेशनका कृषि विज्ञ भगवान खतिवडाले भने, ‘यस्तो अवस्थामा यी मलको असन्तुलित प्रयोग हुँदा माटोको उर्वराशक्तिमा ह्रास आउन थालेको छ ।’

एमोनिया सल्फेटको प्रयोगले माटोमा अम्लियपन हुन दिँदैन । एमोनियायुक्त नाइट्रोजनको स्रोत मानिने एमोनियम सल्फेट मलमा २१ प्रतिशत नाइट्रोजन र २४ प्रतिशत सल्फर तत्व हुन्छ । अन्य तत्वको अलावा सल्फर तत्व अत्यावश्यक हुनेहुँदा यो मल विशेष गरी तेलहन बालीका लागि अति उपयुक्त मानिन्छ ।

फस्फोरसयुक्त सिंगल सुपर फस्फेट मलमा १६ प्रतिशतसम्म फोस्फोरसको मात्रा र केहीमात्रामा क्याल्सियम र सल्फर तत्वसमेत हुन्छ । खाद्यान्न तरकारीलगायत सम्पूर्ण बालीका लागि उपयुक्त हुने यो मलमा जिङ्क तथा बोरोनसमेत समावेश गरिने हुँदा यसको प्रयोगले माटोको उर्वराशक्ति बढाउने गरेको बताइन्छ ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको पहलमा एसएसपी र एमोनियम सल्फेट मलबारे कृषकमाझ सचेतना कार्यक्रम थालिएको छ । यसक्रममा कृषकको सहभागितामा कैलालीको भजनी, गदरियालगायतका क्षेत्रमा तोरी, आलु, गहुँ बालीको अवलोकन भ्रमण गरी कृषकबीच अनुभव आदानप्रदान गरिएको छ ।

यो मल बिक्री गर्न थालेको साल्ट ट्रेडिङ कर्पोरेशन लि‍. सेती अञ्चल कार्यालय धनगढीले सरकारको अनुदानित युरिया र डिएपी मलको विकल्पमा सिंगल सुफर फस्फेट र एमोनियम सल्फेटको माग बढ्दै गएको जनाएको छ ।

गत असोजबाट बिक्री वितरण शुरु गरेको कार्यालयले अहिलेसम्म २० हजार बोरा (एक हजार मे टन) मल बिक्री भइसकेको कार्यालयका सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डेयले बताए ।


क्लिकमान्डु