गगन थापामाथी बम हान्ने ३ जना धरौटीमा रिहा



काठमाडौं । निर्वाचन प्रचारप्रसारका क्रममा नेपाली काँग्रेसका नेता गगनकुमार थापामाथि बम आक्रमण गरेको अभियोगमा पक्राउ परेकामध्ये ३ जनालाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले शुक्रबार धरौटीमा रिहा गरेको छ ।

अभियुक्त महेश नेपाली, बिग्रेस लामा र रोशन विष्टलाई ६० हजार रुपैयाँका दरले धरौटी रकम लिएर जिल्ला प्रशासन कार्यालयले रिहा गरेको हो ।

कार्यालयले २ जनालाई भने पुर्पक्षका लागि थुनामा राखेको छ । अभियुक्तद्वय रवि गोले र विचारमान तामाङलाई पुर्पक्षका लागि थुनामा राख्न निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

अर्का अभियुक्त राधी तामाङलाई भने नुवाकोटमा अर्को मुद्दा रहेकाले प्रहरीले नुवाकोटमा पठाइदिएको छ । उनीहरु सबैलाई प्रशासन कार्यालयले ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा लगाएको थियो ।

घटनालगत्तै पक्राउ परेकामध्ये छ जनाविरुद्ध तत्काल जिल्ला अदालत काठमाडौँमा विस्फोटक पदार्थको प्रयोग तथा ओसारपसारसम्बन्धी मुद्दा दायर भएको थियो ।

उनीहरुलाई अदालतले बुधबार १० हजार रुपैयाँका दरले धरौटी लिएर रिहा गरेको थियो । अदालतले रिहा गरेलगत्तै प्रहरीले पक्राउ गरेर उनीहरुलाई जिल्ला प्रशासन कार्यालयमा बुझाएको थियो ।

जिल्ला प्रशासन कार्यालयले पनि २ जनाबाहेक सबैलाई रिहा गरेकामा घटनाका पीडितले असन्तोष जनाएका छन् । मानिसको ज्यानसमेत जान सक्ने गरी बम पड्काउनेले १० हजार तिर्दैमा छुट्कारा पाउने कानूनी व्यवस्था व्यावहारिक र न्यायपूर्ण नभएको उनीहरुको भनाइ छ ।

घाइतेले दोषीलाई कारबाही गर्नेभन्दा पनि मुक्ति दिने गरी प्रमाण जुटाउने बेलामा मुद्दा नै कमजोर बनाइएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

काठमाडौँ क्षेत्र नं ४ मा काँग्रेसका तर्फबाट प्रतिनिधिसभाका लागि उम्मेदवार भएर घरदैलो गरिरहेका बेला थापासहितको टोलीलाई लक्ष्य गरी काठमाडौँको चपलीमा गत मंसिर १८ गते बम आक्रमण भएको थियो । आक्रमणबाट थापासहित ११ जना घाइते भएका थिए ।


क्लिकमान्डु