फोहर फाल्नेको फोटोसहित उजुरी गर्नेलाई भत्ता दिदै महानगर



पथरी । विराटनगर नगर क्षेत्रलाई वातावरणमैत्री र स्वच्छ शहर बनाउने अभियानअन्तर्गत महानगरपालिकाले फोहरमैला व्यवस्थापनमा कडाइ गर्ने नीति अख्तियारी गरी सुराकी भत्ता प्याकेज ल्याउन लागेको छ ।

यो प्याकेजमा जसले फोहर फ्यालेको हो उसको फोटोसहितको प्रमाण देखाएर सुराकी दिनेलाई भत्ताको व्यवस्था गरिन्छ । यो नीति अख्तियारी गरेपछि गाउँघरबाट सडकमा फ्याँकिने फोहरमा केही सुधार आउने अपेक्षा महानगरपालिकाले गरेको छ ।

महानगरपालिकाका प्रमुख भीम पराजुलीले फोटोसहितको सुराकी दिनेलाई प्रोत्साहनस्वरुप भत्ता दिने व्यवस्था मिलाउन लागिएको बताए । दिनप्रतिदिन बढ्दै गएको फोहरमैलाको विकराल समस्यालाई न्यूनीकरण गर्न महानगरपालिकाले पहिलो पटक यस्तो योजना ल्याउन लागेको प्रमुख पराजुलीले बताए ।

प्रोत्साहन भत्ता दिएर भए पनि शहरलाई सभ्य बनाउनु पर्ने दायित्व बढेको छ पराजुलीले भने बोर्ड बैठक बसेर यसबारेमा हामी चाँडै निर्णयमा पुग्छौ ।

विराटनगर नगर क्षेत्रमा दैनिक ९० मेट्रिक टनसम्म फोहर उत्पादन हुने गरेको छ । शहरी क्षेत्रमा उत्पादन हुने यस्ता फोहरका कारण नगर क्षेत्र दुर्गन्धित हुँदै आएको छ ।

विराटनगरको गुद्री, मेनरोड, देवकोटा चोक, गुद्री, बरगाछी, तिनपैनी चोकबाट निस्कने फोहर घरबाट फ्यालिने गरेको छ । पटकपटक सचेत गराउँदा समेत अटेर गरेपछि महानगरपालिकाले यस्तो कडाइ गर्न लागेको हो वातावरण शाखाका इञ्जिनियर घनश्याम काफ्लेले बताए । नर्सिङ होम, वित्तीय संस्थान, पसलबाट निस्कने फोहरको व्यवस्थापन मुख्य समस्या देखिएको इञ्जिनियर काफ्लेको भनाइ छ ।


क्लिकमान्डु