सुन्तला खेतीबाटै वार्षिक ६ लाख रुपैयाँ बढी आम्दानी



अर्घाखाँची । पाणिनी गाउँपालिकाको पणेना सिम्ले गाउँका बासिन्दा सुन्तला खेतीबाट आत्मनिर्भर बन्दै गएको छ ।

सिम्लेमा अहिले झण्डै ७० कृषक व्यावसायिक सुन्तला खेतीमा लागेका छन् भने पणेनामा २०० घरधुरी अहिले सुन्तला खेतीबाट ५० हजार रुपैयाँदेखि १२ लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन् ।

यहाँका युवा वैदेशिक रोजगारीबाट फर्किएर व्यावसायिक सुन्तला खेतीमा लागेका छन् । भारतीय सेनाको जागिर छाडेर फर्किएका पणेनाका ७३ वर्षीय हुमनाथ पौडेल अहिले अर्घाखाँचीकै सफल कृषक बन्नु भएको छ ।

‘सुन्तला खेतीबाट वार्षिक ६ लाख रुपैयाँ भन्दा बढी आम्दानी हुने गरेको छ,’ उनले भने ।

पौडेलको बगैँचामा अहिले ६०० भन्दा बढी सुन्तलाका रुख रहेका छन् । उनले बारी, खेत, खर्कमा सुन्तला खेती गरेका छन् ।

पणेना र पोखराथोकमा सुन्तला खेती फष्टाउँदै गएको छ । व्यावसायिक सुन्तला खेतीमा लागेका सिम्लेका रेवतीराज पौडेलको बगैँचामा झण्डै ४५० सुन्तलाका रूख रहेका छन् । उनले वार्षिक तीन लाखदेखि पाँच लाख रुपैयाँसम्म आम्दानी गर्दछन् ।

‘सुन्तला बिक्रीका लागि कुनै समस्या छैन,’ उनले भने ।

यहाँ उत्पादन भएको सुन्तला प्रतिकिलो ७५ देखि ९० रुपैयासम्ममा बिक्री भइरहेको छ ।

यस वर्ष चार लाख रुपैयाँ आम्दानी हुने उनको विश्वास छ ।

सुन्तला बिक्रीबाट मात्र हैन यहाँका किसानले सुन्तलाको नर्सरी राखी बिरुवा बेचेर मनग्य आम्दानी गर्दैआएका छन् । यहाँका किसानले सुन्तला, कागती, जुनारलगायत बिरुबा बिक्री गर्दैआएका छन् ।


क्लिकमान्डु