तरकारीको मूल्य धेरै घट्यो, उपभोक्तालाई राहत




काठमाडौं । मंसिर अघि गोलभेडाको मूल्यलाई लिएर घरको चुलोमा मात्र नभइ सामाजिक सञ्जालमासमेत निकै चर्चा चलेको थियो । मानिसहरुले पर्समा पैसाको साट्टा गोलभेडा बोकेर हिडे हुन्छ भन्ने जस्ता व्याङग्य गर्न थालेका थिए ।

मंसिरदेखि पुससम्मको अन्तरालमा तरकारीको मूल्य दोब्बरले घटेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उप निर्देशक तथा सूचना अधिकृत विनय श्रेष्ठका अनुसार मंसिरयता तरकारीको मूल्यमा ५० प्रतिशतभन्दा बढीले कमी आएको हो ।

कालिमाटी बजारको मूल्यसूची अनुसार गोलभेडाको मूल्य मंसिर १ गते ६२ रुपैयाँदेखि ८२ रुपैयाँ प्रतिकेजी पुगेको थियो । आजको मितिमा गोलभेडा मूल्य घटेर २८ रुपैयाँदेखि ४२ रुपैयाँ प्रतिकेजीमा झरेको छ ।

यस्तै आलु प्रतिकेजी ३३ रुपैयाँदेखि ३८ रुपैयाँसम्ममा विक्री हुने गरेकोमा पछिल्लो समय २९ रुपैयाँदेखि ३१ रुपैयाँ प्रतिकेजीमा कालिमाटी बजारमा विक्री भइरहेको छ ।

गाजरको मूल्य ९८ रुपैयाँ प्रतिकेजीबाट ४२ रुपैयाँ प्रतिकेजीमा झरेको छ । बन्दा प्रतिकेजी ५८ रुपैयाँमा विक्री हुने गर्थ्यो भने पछिल्लो समय २८ रुपैयाँ प्रतिकेजी विक्री भैरहेको छ ।

स्थानीय काउलीको मूल्यसमेत ५८ रुपैयाँ प्रतिकेजीबाट २८ रुपैयाँ प्रतिकेजीमा झरेको श्रेष्ठले जानकारी दिए ।

भान्टाको मूल्य ४८ रुपैयाँबाट ३० रुपैयाँ प्रतिकेजीमा झरेको छ । बोडि ९८ रुपैयाँ प्रतिकेजीबाट ५८ रुपैयाँ प्रतिकेजीमा घटेको विक्रेताको भनाइ छ ।

मटरकोशाको मूल्य १ सय ५ रुपैयाँबाट ६८ रुपैयाँ प्रतिकेजीमा झरेको छ । तिते करेलाको मूल्य ७८ रुपैयाँबाट ५८ रुपैयाँ प्रतिकेजी भएको छ ।

लौका प्रतिकेजी ४२ रुपैयाँबाट ३४ रुपैयाँमा झरेको छ । फर्सी मंसिर १ गतेसम्ममा २२ रुपैयाँदेखि ३८ रुपैयाँ प्रतिकेजी विक्री हुने गर्थ्यो । पछिल्लो समय फर्सी २१ रुपैयाँ देखि ३३ रुपैयाँ प्रतिकेजी विक्री हुन थालेको छ ।

बरेलाको मूल्य ४२ रुपैयाँ प्रतिकेजीबाट ३८ रुपैयाँ प्रतिकेजीमा झरेको छ । हरियो प्याजको मूल्य १ सय ५ रुपैयाँ प्रतिकेजीबाट ७५ रुपैयाँ प्रतिकेजीमा झरेको छ ।

च्याउको मूल्य १ सय ५५ रुपैयाँ प्रतिकेजीबाट १ सय १५ रुपैयाँ कायम भएको छ । ब्रोकाउली ९८ रुपैयाँ प्रतिकेजीबाट ४२ रुपैयाँमा झरेको छ ।

बजारमा यी तरकारीहरुबाहेक प्याज र भिण्डीको मूल्यमा भने वृद्धि भएको पाइएको छ । हाल भिण्डीको मूल्य ७८ रुपैयाँ प्रतिकेजीबाट ९८ रुपैयाँ प्रतिकेजीमा पुगेको छ । यस्तै प्याज ६७ रुपैयाँ प्रतिकेजीबाट बढेर ७८ रुपैयाँ प्रतिकेजीमा बढेको विक्रेताको भनाइ छ ।


क्लिकमान्डु