हल्लाको पछाडि नदौडनुस्, बजार विस्तार गर्न हामी प्रयास गर्दैछौंः निरज गिरी



प्रदेश र प्रतिनिधिसभा निर्वाचन पछि पुँजी बजारमा निरासा छाएको छ । बजार लगातार घट्दैछ । बजार घट्नुलाई विभिन्न विश्लेषकले विभिन्न कारण देखाएका छन् । यस्ता कारणमध्ये सबैभन्दा जवरजस्त कारणको रुपमा बाम गठबन्धनको बहुमतलाई लिइएको छ ।

बाम गठबन्धनको बहुमत आएकै कारण पुँजी बजारमा यस्तो निरासा छाएको हो ? लगानीकर्ताले यस्तो अबस्थामा के गर्ने ? यी र यस्तै समसामयिक विषयमा धितोपत्र बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता निरज गिरीसँग गरिएको कुराकानीः

प्रदेश र प्रतिनिधिसभा निर्वाचन पछि बजार घटिरहेको छ, चुनाबी नतिजाको कारण यस्तो भएको हो ?
अहिलेको पुँजी बजारको अबस्था चुनाबी परिणामसँग सम्बन्धित छैन । बजार कुनै बेला बढ्छ, कुनै बेला घट्छ । यो भइरहने प्रक्रिया हो । फलानो पार्टीको सरकार बन्ने भएकोले बजार घट्यो भन्ने खालका हल्लाहरु पनि सुनिकएको छ । त्यसमा कुनै सत्यता छैन । किनभने अब जुन पार्टीहरु मिलेर सरकार बनाउँदैछन्, ती पार्टीहरुले नेपालमा पहिलो पटक सरकार बनाउन लागेका होइनन् । यसअघि पनि सरकारको नेतृत्व गरेको दल वा दलका नेताकै नेतृत्वमा सरकार बन्ने हो । त्यसैले चुनाबी परिणामको कारण बजार घटेको होइन ।

किन घट्दैछ त बजार यसरी ?
यसका विभिन्न कारणहरु छन् । जस्तो सेयरको आपूर्ति बढिरहेको छ, त्यसको अनुपातमा माग बढेको छैन । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुको चुक्ता पुँजी बृद्धि भयो । त्यसमा बोनस सेयर र हकप्रदको अंश धेरै छ । यसले पनि आपूर्ति बढाउन सहयोग पुर्यो । अहिले बजारमा तरलता अभावको बिषय पनि आइरहेको छ । बैंकको ब्याजदर बढेको छ ।

अर्काे कुरा चालु आर्थिक बर्षको पहिलो त्रैयमासको प्रतिबेदन आएको छ । त्यो प्रतिबेदन लगानीकर्ताले अपेक्षा गरेभन्दा नराम्रो भएको उनीहरुको अनुभूति हुन सक्छ । पुँजी बढे अनुसार प्रतिफल पाइदैन कि भन्ने लगानीकर्ताहरुलाई लागेको हुन सक्छ । यस्ता कारणहरुले बजारमा नकारात्मक असर परेको देखिन्छ ।

धितोपत्र बोर्ड, बीमा समिति, नेपाल राष्ट्र बैंक जस्ता नियामकको कमजोरीका कारण त बजार घटिरहेको होइन ?
त्यस्तो होइन । नियमकले एउटा नीति ल्याएर त्यसको कार्यान्वयनमा जाने न हो । बजारलाई विभिन्न सेन्टिमेन्टहरुले प्रभाव पारिरहेको हुन्छ । हाम्रो बजारमा अझै पनि संस्थागत लगानीकर्ताहरु छैनन् । खासगरी ‘रिटेल इन्भेष्टर’हरु छन् । रिटेल इन्भेष्टर बढी भएको बजारमा धेरै कुरा बुझेर लगानी गरिएको हुँदैन । पहिलाको तुलनामा ‘अन्डरस्ट्याण्डिङ’को लेबल बढेको छ । तर, पर्याप्त छैन । यस्तो बजारमा आउने विभिन्न प्रकारका हल्लाहरुलाई मान्छेहरुले सत्य हो कि होइन भनेर नबुझिकन कहिले काँही ‘प्यानिक’ हुने अबस्था आउँछ ।

अर्काे कुरा संचार माध्यमहरुमा पनि लगानीकर्तालाई निरुत्साहित गर्ने प्रकारका समाचारहरु आउँछन् । जस्तो कि २५ खर्ब रुपैयाँले सम्पत्ति घट्यो भन्ने प्रकारका समाचारहरु आउँछन् । यस्ता समाचारले राम्ररी नबुझिसकेको मान्छेलाई प्यानिक गराउँछ । बजार अझै घट्ने भयो भन्ने अर्थ लाग्छ । यस्ता विभिन्न कारणले बजार घटेको हो । नियामककै कमजोरीको कारण बजार घटेको होइन ।

तपाइले संस्थागत लगानीकर्ताको अभाव, हल्लाको मनोबैज्ञानिक त्रास जस्ता जुन प्रकारका समस्या देखाउनुभयो, त्यसको समाधान त तपाइकै टेबलमा होला ?
बजारमा संस्थागत लगानीकर्ता ल्याउनु पर्छ भनेर हामी लागेको धेरै नै समय भयो । हामी एक प्रकारले लागिरहेका हुन्छौं, त्यही बेलामा बजार अर्काे बाटोमा पुगिसकेको पनि हुन सक्छ । फेरि धितोपत्र बोर्डले आइज भनेर संस्थागत लगानीकर्ता आउँने कुरा पनि होइन ।

कसैले फलानाको सरकार आउदैछ, त्यसैले बजार घट्छ भनेको आधारमा आत्तिने वा कुनै संचार माध्यममा बजार घट्छ भनेर समाचार आउँदैमा हतारिएर बेच्ने गर्नुभएन । यस्तै हल्लाकै भरमा बजार बढ्छ भनेर लगानी पनि गर्नुहुदैन ।

कर्मचारी संचयकोष, नागरिक लगानीकोष जस्ता संस्थागत लगानीकर्ताहरुलाई हामीले झकझक्याउने काम गरिरहेका छौं । त्यो झकझक्याउने काममा हामी अझै त्यति सफल भएनौं भन्नुपर्ने भयो । हामीले हाम्रो पाटोबाट सहजिकरण गरेका कारण केही म्युचुअल फण्डहरु आएका छन् । तर, पनि उनीहरु प्राविधिक रुपमा संस्थागत लगानीकर्ता नै चाही होइन । केही हदसम्मको भूमिका उनीहरुले निर्वाह गरिरहेका छन् । संस्थाहरुलाई नै चाढोभन्दा चाढो बजारमा ल्याउनु पर्छ ।

अहिले लगानीकर्ता वास्तबमै ‘प्यानिक’ हुनुपर्ने अबस्था हो ?
प्यानिक नै हुनुपर्ने अबस्था छैन । जस्तो कि बैंक तथा वित्तीय संस्थाहरुको पहिलो त्रैयमासको प्रतिबेदन अपेक्षाभन्दा नराम्रो आयो होला । तर, त्यसको ‘रिकभर’ अर्काे त्रैयमासमा हुन सक्छ । केही लगानीकर्ताहरुले बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिएर बजारमा लगानी गरेको पनि देखिन्छ । बजार घट्ने वित्तिकै बैंकहरुले मार्जिन कल गर्छन् । अनि त्यसको असर पनि बजारमा देखिन थाल्छ । आफ्नो पुँजी र ऋण दुबै मिलाएर लगानी गरिएको छ भने त्यस्ता लगानीकर्तालाई बजार केही घट्दैमा असर पर्दैन । तर, ऋणबाट मात्र लगानी गर्ने लगानीकर्तालाई बजार घट्दा अझ समस्या पर्छ । यी सबै कुराको असर बजारमा देखिन थालेको हो ।

बजार घटिरहेको छ, यस्तो अबस्थामा नियामकको तर्फबाट लगानीकर्तालाई के भन्न चाहनु हुन्छ ?
बजारमा विभिन्न हल्लाहरु आउँछन् । त्यस्ता हल्लाको पछि लागेर डिसिजन नगर्नुस् । तथ्य कुराहरु बुझ्नु पर्ने हुन्छ । जस्तो कि नयाँ सरकार बन्दैछ । स्थायी सरकार आउँछ । बजारलाई स्थायित्व दिने प्रकारका केही नीतिगत निर्णयहरु होलान् । यस्ता निर्णयले बजारमा सकारात्मक प्रभाव पार्छ । अहिले नै आत्तिएर फलानाको सरकारले आयो रे, अब यस्तो हुन्छ भन्ने प्रकारका हल्लाको पछाडि लाग्नु हुँदैन । केही नराम्रा समाचारहरु पनि आउँन सक्छन् । त्यस्ता केही नकारात्मक समाचार पढेकै भरमा आत्तिनु भएन । अर्काे त्रैयमासको प्रतिबेदन आउने बेला हुन लाग्यो । त्यो प्रतिबेदन पनि हेर्नुस् भन्ने नै हो हामीले भन्ने कुरा ।

पहिलो कुरा त अहिले बजारमा जे भइरहेको छ, त्यो पहिरो नै होइन । यसलाई पहिरो हो भन्ने हो यस्तै पहिरो आएर बजार माथि पनि पुर्याउँछ ।

यो बेलामा सेयर किन्नु कि बेच्नु ?
सेयर किन्नुस् वा बेच्नुस् भनेर हामीले भन्ने कुरा होइन । यो ब्यक्तिगत हकको कुरा भयो । नियामकको तर्फबाट मैले भन्ने कुरा के हो भने सेयर किन्ने वा बेच्ने निर्णय गर्नुभन्दा पहिला विभिन्न तथ्यहरु हेरेर निर्णय गर्नुस् ।

यो घट्दो बजारलाई केही राहत दिन नियामकले कुनै पहल गर्दैछ तत्काल ?
नियामकले नियामकीय सहयोग गर्ने नै हो । हामीले नेप्सेलाई अनलाइन ट्रेडिङ चाढो सुरु गर भनिरहेका छौं । ब्रोकरका शाखालाई देशका विभिन्न स्थानमा कसरी लैजाने भनेर छलफल गरिरहेका छौं । बैंकलाई सहायक कम्पनी खोलेर सेयर खरिद विक्री गर्न पाउने नीतिगत ब्यवस्था हुनुपर्छ भनेर हामीले भनिरहेका पनि छौं । बैंकको विषयमा हामीले मात्रै भनेर भएन । राष्ट्र बैंकको बिषय पनि आउँछ । राष्ट्र बैंकको नीति नियमले पनि त्यसो गर्न दिनु पर्यो । उहाँहरुले अध्ययन गरिरहनु भएको छ । म्युचुअल फण्डहरु आइरहेको छ । हामीले यसलाई बजारलाई स्थायित्व दिन सक्ने फ्याक्टर बन्न सक्छ भनेर अझै पनि प्रमोट गरिरहेका छौं । हामीले आफ्नो तर्फबाट गर्न सक्ने कामहरु गरिरहेका छौं ।

बजारमा यस्तै प्रकारको निरासा छायो र बजार धेरै घटिरह्यो भने नियामकले राहत दिन सक्ने ठाउँ छ ?
त्यस्तो अबस्थामा हामीले सुक्ष्म रुपमा हेरेर के गर्न सक्ने ठाउँ हुन्छ, अध्ययन गरेर सक्ने जति गर्छौं । वास्तबमा भन्ने हो भने बजारलाई बजारकै रुपमा छोड्नु पर्छ । कसैले म्यानुपुलेट गरेर बजार घटाएको छ भने हामीले हस्तक्षेप गरेर त्यसो गर्न नदिने हो । स्वभाविक हो भने नियामकले रोक्न खोजेर पनि रोक्न सकिदैन । काँही नीतिगत समस्या छ भने त्यसलाई जहिले पनि सुधार गर्नुपर्ने हुन्छ ।

बैंकिङ क्षेत्रको नाफामा केही तलमाथि हुने वित्तिकै पुँजी बजारको अबस्था नै तलमाथि हुने गरेको छ, यसलाई कम गर्न रियल सेक्टरका कम्पनी भित्र्याउने गरी कुनै ठोस पहल भइरहेको छ ?
केही दिन अगाडि मात्रै हामीले नेपाल उद्योग बाणिज्य महासंघका प्रतिनिधिसँग छलफल गर्यौं । हामीले रियल सेक्टरलाई पुँजी बजारमा आउने बाटो खोल्यौं । तर, उहाँहरु आइरहनु भएको छैन । महासंघका प्रतिनिधिले हामीसँग भन्नुभए अनुसार निजी क्षेत्रको विभिन्न फोरमहरुमा रियल सेक्टरका कम्पनीहरुलाई पुँजी बजारमा ल्याउन छलफलहरु भइरहेको छ । कहिले आउने भन्ने उहाँहरुको कुरा हो ।

गैरआवाशीय नेपालीलाई पनि पुँजी बजारमा भित्र्याउन हामीले अध्ययन गरेका थियौं । बैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धि ऐन आउने भन्ने कुरा आएपछि त्यसमा भएका ब्यवस्थाको कारण हामीले धेरै पहल गर्नु नपर्ने भन्ने कुरा आयो । तर, ऐन केही ढिला हुने जस्तो देखिएको छ । हामी अहिले गैरआवाशीय नेपालीलाई पुँजी बजारमा ल्याउनको लागि गर्नुपर्ने कामका सन्दर्भमा थप पहल गर्न लागेका छौं ।

बजारमा पहिरो गइरहेको छ, लगानीकर्तालाई फेरि पनि भनिदिनुस् न, के गर्ने यस्तो अबस्थामा ?
पहिलो कुरा त अहिले बजारमा जे भइरहेको छ, त्यो पहिरो नै होइन । यसलाई पहिरो हो भन्ने हो यस्तै पहिरो आएर बजार माथि पनि पुर्याउँछ । कुनै दिन नेप्से परिसुचक २९२ बिन्दुमा पुगेको पनि हामीले देखेकै हो । त्यही बिन्दुबाट उठेर बजार १८ सयभन्दा माथिल्लो बिन्दुमा पुगेको पनि हामीले नै देखेको हो । कुनै बेला बजार घट्छ, केही समयपछि फेरि बढ्छ । त्यसैले हल्लाको पछाडि लाग्ने होइन । आफूले बुझेर लगानी गर्दा फाइदा हुन्छ भने गर्ने र बेच्दा फाइदा हुन्छ भने बेच्ने हो । कसैले फलानाको सरकार आउदैछ, त्यसैले बजार घट्छ भनेको आधारमा आत्तिने वा कुनै संचार माध्यममा बजार घट्छ भनेर समाचार आउँदैमा हतारिएर बेच्ने गर्नुभएन । यस्तै हल्लाकै भरमा बजार बढ्छ भनेर लगानी पनि गर्नुहुदैन । पहिला आफूले बुझ्नुस् अनि निर्णय गर्नुस् भन्ने मेरो सुझाव छ ।


क्लिकमाण्डू