सिंहमहलमा देशको अत्याधुनिक ढुकुटी, बेबी केयरदेखि ब्यायाम केन्द्रसम्म




काठमाडौं । नेपाल राष्ट्र बैंकले थापाथलीमा रहेको आफ्नो भबन भत्काएर अर्काे अत्याधुनिक भबन बनाउने भएको छ । करिब सय बर्ष पूरानो सो भबन जिर्ण बनेको र २०७२ को शक्तिशाली भूकम्पको कारण थप धरासायी बनेपछि आधुनिक भल्ट (पैसा राख्ने ढुकुटी) सहितको भबन बनाउन लागिएको हो ।

राष्ट्र बैंकले थापाथलीको आफ्नो भबन भत्काएर पुरानै शैलीमा अत्याधुनिक भबन बनाउन लागेको नेपाल राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए । राष्ट्र बैंक ब्यवस्थापनले नयाँ भबनको माष्टरप्लान स्वीकृत गरिसकेको छ ।

राष्ट्र बैंकको स्वामित्वमा रहेको सो भबन राणाशासनको बेलामा सिंहशमसेर राणाले प्रयोग गर्ने गरेको भबन हो । सिंहशमशेर रोलक्रमवाला राणा जर्नेल थिए । रोलक्रमवाला राणा जर्नेल आफ्नो पालामा श्री ३ महाराज बन्ने नियम सो शासन ब्यवस्थामा थियो ।

‘४ तल्ले भबन बन्छ, अहिले त्यहाँ रहेका ४ वटा विभाग त्यही रहन्छन्, आधुनिक भल्ट हुन्छ, २५० जना अट्ने कन्फरेन्स हल हुन्छ, प्रत्येक विभागको लागि बैठक कक्ष बन्छ,’ गभर्नर कार्यालयका निर्देशक समेत रहेका पण्डितले नयाँ भबन बारे जानकारी दिदै भने ।

अहिले थापाथलीमा राष्ट्र बैंकको बैंकिङ कार्यालय, नोट विभाग, राष्ट्र ऋण विभाग र तालिम केन्द्र छन् । नयाँ भबन बनेपछि पनि यी ४ वटा विभाग त्यही रहने छन् ।

नयाँ भबनको साथै सो स्थानमा अत्याधुनिक पार्किङस्थल, ब्यायम केन्द्र र दिउसोको लागि बच्चा स्याहार केन्द्रसमेत बनाउन लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ । अपांगमैत्री बन्ने सो भबन बातावरणमैत्री र भबन आचारसंहिता अनुसारको हुनेछ । यस्तै राणाकालिन कला संस्कृति अनुसारकै भबन बन्ने पण्डितले जानकारी दिए ।

नयाँ भबन बनाउनको लागि अहिले पुरानो संरचनाका अबषेश हटाउने काम भइरहेको छ ।


क्लिकमान्डु