पुँजी बृद्धिमा ठूलाप्रति कठोर बनेको राष्ट्र बैंक साना संस्थाप्रति सहयोगी




काठमाडौं । तोकिए अनुसार चुक्ता पुँजी नपुर्याउने बैंक तथा वित्तीय संस्थाप्रति कठोर रुपमा प्रस्तुत भएको नेपाल राष्ट्र बैंक साना संस्थाप्रति नरम देखिएको छ । राष्ट्र बैंकले साना संस्थालाई सहयोग गर्न विशेष नीति नै सार्बजनिक गरेको छ ।

एक जिल्ला मात्रै कार्यक्षेत्र भएका विकास बैंक र फाइनान्स कम्पनीलाई पुँजी बृद्धि गर्ने समय २ बर्ष थप गरेको छ । अघिल्लो बर्षको नाफाबाट बोनस सेयर दिएरभए पनि यही पुस मसान्तसम्ममा चुक्ता पुँजी तोकिए अनुसार कायम गराउन बाध्य बनाएको राष्ट्र बैंकले एक जिल्ला मात्रै कार्यक्षेत्र भएका बैंक तथा वित्तीय संस्थालाई विशेष सुबिधा दिएर आगामी २०७६ पुस मसान्तसम्ममा चुक्ता पुँजी पुर्याउँदा हुने ब्यवस्था गरेको हो ।

एक जिल्ला कार्यक्षेत्र भएका बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पुँजी धेरै गुणाले बढाउनु पर्ने भएकोले विशेष ब्यवस्था गरिएको राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए । एक जिल्ला मात्रै कार्यक्षेत्र भएका बैंक तथा वित्तीय संस्थाको न्यूनतम चुक्ता पुँजी १ करोड र २ करोड रुपैयाँ थियो ।

राष्ट्र बैंकको यस्तो ब्यवस्थाले दुर्गममा बसेर सेवा दिइरहेका गरिबको बैंक भनिने संस्थाहरुले राहतको अनुभुत गर्न पाउने भएका छन् ।

‘एक करोड वा २ करोड रुपैयाँ चुक्ता पुँजी भएका एक जिल्ला कार्यक्षेत्रवाला बैंक तथा वित्तीय संस्थाको न्यूनतम चुक्ता पुँजी ५० करोड रुपैयाँ बनाइएको छ, ठूलो संस्थाको ४ गुणाले पुँजी बृद्धि हुने भएपनि साना संस्थाको ५० गुणासम्म बढाउनु पर्ने देखिएको थियो, यसैले विशेष ब्यवस्था अन्तरगत राखेर त्यस्ता संस्थाको लागि छुट्टै ब्यवस्था गरिएको हो,’ गभर्नर कार्यालयका निर्देशक समेत रहेका पण्डितले क्लिकमाण्डूसँग भने ।

एक जिल्ला मात्रै कार्यक्षेत्र भएका संस्थाहरु साना भएका, त्यसका लगानीकर्ता पनि कमजोर आर्थिक अबस्था भएका हुने र दुर्गममा बसेर काम गर्ने भएकोले विशेष सुबिधा दिनुपर्ने आवाज उठ्दै आएको थियो । यस्तै धनीहरुले लगानी गरेका ठूला संस्थाको पुँजी बृद्धि ४ गुणामात्रै गरिए पनि आफूहरुले लगानी गरेका संस्थाको ५० गुणासम्म पुँजी बृद्धि गरेर एउटै समय दिइनु अन्याय भएको यस्ता संस्थाका संचालक तथा लगानीकर्ताहरुको गुनासो थियो ।

राष्ट्र बैंकको यस्तो ब्यवस्थाले दुर्गममा बसेर सेवा दिइरहेका गरिबको बैंक भनिने संस्थाहरुले राहतको अनुभुत गर्न पाउने भएका छन् ।


क्लिकमान्डु