नेपाल प्रहरीले भन्यो- म्यादी प्रहरीलाई तलब भत्तामा भेदभाव गरिएको छैन



काठमाडौँ । नेपाल प्रहरीले म्यादी प्रहरीको तलव, भत्तामा कुनै भेदभाव नगरिएको स्पष्ट पारेको छ ।

आइतवार आयोजित साक्षात्कार कार्यक्रममा प्रहरी प्रवक्ता नायब प्रहरी महानिरीक्षक मनोज न्यौपानेले सबै म्यादी प्रहरीलाई पूर्वघोषित तलव, रासन र स्थानीय भत्ता सुविधा दिइसकिएको जानकारी दिँदै दिने भनिएको कुनै सुविधामा कटौती नगरिएको बताए।

‘सबैलाई आधारभूत तलव मासिक १७ हजार २३० रुपैयाँका दरले दिइएको छ । यस्तै, रासन र स्थानीय भत्ता सुविधा फरक/फरक जिल्ला र एउटै जिल्लाभित्र पनि फरक/फरक सुविधा तोकिएअनुसार सुविधा दिइएको छ,’ उनले भने।

शुक्रबार तोकिएको भन्दा कम सेवा, सुविधा पाएको भन्दै कालिकोटमा म्यादी प्रहरीले आन्दोलन गर्दा म्यादी प्रहरी विवेक ऐडीको मृत्यु भएको थियो ।

कालिकोटमा म्यादी प्रहरीलाई दिने भनिएको सवै सेवा, सुविधा दिइएको प्रवक्ता न्यौपानेले जानकारी दिए।

कालिकोट घटनाको सम्बन्धमा  छानविन समिति गठन गरिएको र समितिले काम सुरु गरिसकेको उनले बताए ।

म्यादी प्रहरीको भर्ना खोल्दा तोकिएकै सेवा, सुविधाअनुसारको रकम बैंकमार्फत उनीहरुको खातामा पठाइएको उनको भनाइ छ ।

सरकारले ५५ दिनका लागि ९८ हजार २६८ म्यादी प्रहरीका लागि  भर्ना माग गरेको थियो । निर्वाचन अवधिभर एक हप्ताका लागि प्रतिदिन २५० रुपैयाँका दरले विशेष भत्ता, रासन र सात दिनकै लागि प्रतिदिन २५० रुपैयाँका दरले खाजा/खाना खर्च उपलब्ध गराएको थियो ।

यस्तै, सेवा अवधिभर घाइते भएमा उपचार खर्चवापत एक लाख ५० हजार रुपैयाँ र मृत्यु भएमा १५ लाख रुपैयाँको बीमा गरिएको थियो ।

यस्तै, पोशाक भत्ताबापत चार हजार रुपैयाँ र खटिएको ठाउँमा जान एक हजार रुपैयाँ खर्च उपलब्ध गराइएको प्रवक्ता न्यौपानेले जानकारी दिए।


क्लिकमान्डु