तल्लो मोदी–१ ले पाँच प्रतिशत नगद लाभांश वितरण गर्ने



पर्वत । पर्वतको कुश्मा नगरपालिका–८ मा सञ्चालित तल्लो मोदीखोला–१ जलविद्युत् आयोजनाका शेयर धनीलाई पाँच प्रतिशत लाभांश वितरण गरिने भएको छ ।

युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले चुक्ता पुँजीको पाँच प्रतिशत नगद लाभांश वितरण गर्ने तयारी गरेको हो । कूल पुँजीको पाँच करोड ७५ लाख रुपैयाँ वितरण गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले आयोजनाको हाल कायम रहेको चुक्ता पुँजीको पाँच प्रतिशत लाभांश दिने निर्णय भएको कम्पनीका कार्यकारी निर्देशक उपेन्द्र गौतमले जानकारी दिए ।

पर्वतमा १० मेगावाटको तल्लो मोदीबाट २०६९ मंसिरदेखि विद्युत्को व्यापारिक उत्पादन शुरु भएको हो । साधारणसभामा आयोजनाका अध्यक्ष सुकुन्तलाल हिराचनले आयोजनाले व्यापारिक उत्पादन शुरु गरेको छ वर्षमा लक्ष्यअनुसार नै आम्दानी दिएको दाबी गरे।

आव २०७२÷७३ मा बाढीका कारण साढे चार महिना विद्युत् आपूर्ति बन्द हुँदा सो आवको उत्पादन निकै कम भए पनि आयोजनाले बीमा गरेकाले ठूलो क्षति व्यहोर्नु नपरेको बताइएको छ । सो आवमा आयोजनाले बीमाबापत १९ करोड सात लाख रुपैयाँ पाएको थियो ।

अघिल्लो आव २०७२÷७३ मा १४ करोड ७१ लाख रुपैयाँ आम्दानी भएको आयोजनामा गत आवबाट ७७ प्रतिशत वृद्धि भएर २८ करोड १४ लाख रुपैयाँ आम्दानी भएको वार्षिक प्रतिवेदनमा उल्लेख छ । अघिल्लो आवमा एक करोड ३५ लाख ६४ हजार रुपैयाँ खुद नाफा गरेको कम्पनीले गएको आवमा चार करोड ८८ लाख ४८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

चालू आवको पहिलो तीन महिनासम्म कम्पनीले चार करोड १८ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले समीक्षा अवधिमा नौ करोड ७१ लाख ३३ हजार रुपैयाँको विद्युत् बिक्री गरेको जानकारी दिएको छ ।

सो कम्पनीले निकट भविष्यमै तल्लो मोदी–२ सञ्चालन गर्ने योजनासमेत अघि सारेको छ । अहिलेको आयोजनाभन्दा तल तल्लो मोदी–२ निर्माण गर्ने र यसका लागि जग्गा अधिग्रहणलगायतका काम भइरहेको कार्यकारी निर्देशक गौतमले जानकारी दिए।


क्लिकमान्डु