अब विश्वविद्यालयले हिन्दु बौद्ध, किराँत र इस्लाम धर्मग्रन्थ पनि पढाउनु पर्ने




काठमाडौं । विश्वविद्यालयले अब परम्परागत वैदिक ज्ञान र सिपलाई आफ्नो पाठ्यक्रममा समावेश गरेर अध्ययन अध्यापन गराउनुपर्ने भएको छ ।

उच्च शिक्षा आयोगको प्रगति प्रतिवेदन तथा सिफारिस मस्यौदामा बैदिक, बौद्ध, किराँत, इस्लाम धर्माबलम्बीका साहित्य, ज्ञान, कला र सीपलाई मानव जीवनका लागि उपयुक्त हुने भएकाले त्यसलाई अध्ययन सामग्री बनाउपर्ने सुझाव दिइएको छ ।

नेपाल संस्कृत विश्वविद्यालयले वैदिक ज्ञान एवम् सीपको जिम्मेवारी बोकेको, लुम्बिनी बौद्ध विश्वविद्यालयले बुद्ध धर्मका ज्ञान र सीपको जिम्मेवारी बोकेको उल्लेख गर्दै आयोगले त्यस्ता ज्ञान र सीपलाई थप व्यवस्थित मर्यादित बनाउने दायित्व विश्वविद्यालयहरुको भएको उल्लेख गरेको छ । किराँत र इस्लाम धर्मका ज्ञान एवम् सीपलाई बाहिर ल्याउने विश्वविद्यालय हालसम्म खुल्न नसकेको भन्दै आयोगले त्यस्ता ज्ञान र सिप बाड्ने विश्वविद्यालय खोल्नुपर्नेमा जोड दिइएको छ ।

योग, आर्युवेद, प्राकृतिक चिकित्सा, दर्शन, सिद्धान्त, ज्योतिष, कर्मकाण्ड जस्ता समाजपयोगी ज्ञान एवम् सिपहरु वैदिक साहित्यमा रहेको भन्दै आयोगले सरल शिक्षण, सरल अनुसन्धान तथा ध्यान एवम् सम्यक जीवन जीउने कला र शान्तिका उपाययुक्त ज्ञानहरु बौद्ध दर्शनमा रहेको स्पष्ट पारेको छ ।

आदिवासी एवम् जनजातीका पुख्र्यौली ज्ञानहरु, किराँत धर्ममा रहेको, विश्वास, कुर्बानी एवम् शान्तिका सन्देश इस्लाम भर्ममा रहेकोमा जोड दिदै आयोगले ती र त्यस्ता ज्ञानको खोजी गरी स्थानीय, राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय जगतमा प्रचार प्रसार गर्ने काम सम्बन्धित विश्वविद्यालयले गर्नु उपयुक्त हुने प्रतिवेदन तयार पारिएको छ ।

सबै धर्मका जनउपयोगी कुरा समेटिएका कागजी तथा विद्युतीय पुस्तक प्रकाशित गरिनुपर्ने , धार्मिक एवम् सांस्कृतिक महत्वका विषयको पठन पाठन गराउनुपर्नेमा प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रा केदारभक्त माथेमा, डा सुरेशराज शर्मा, प्राडा विद्यानाथ कोइरालालगायतका विज्ञ समूहले तयार पारेको उक्त प्रतिवेदन सरकारले पारित गरेर कार्यान्वयनमा लगे नेपालको वैदिक साहित्य र ज्ञानलाई विश्व बजारमा प्रचार प्रसार गर्न र प्राज्ञिक क्षेत्रमा अध्ययन अध्यापनका लागि समेत मार्ग प्रशस्त हुने देखिएको छ ।


क्लिकमान्डु