नयाँ सरकार बनेपछि पुँजी बजारको आतंक समाप्त हुन्छ: ओली 



 

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वामपन्थीको सरकार गठन भएमा पुँजी बजार तहसनहस हुन्छ भनेर नियोजित ढंगले शेयर बजारलाई ओरालो लगाइएको बताएका छन् ।

तर, नयाँ सरकार गठन भएपछि पुँजी बजारको आतंक समाप्त भएर व्यवस्थित ढंगले अगाडि बढाइने उनले बताए ।

आफूलाई बधाई दिन आएको नेपाल धितो पत्र दलाल ब्यवसायी संघको टोलीलाई संक्षिप्त सम्बोधन गर्दै ओलीले नयाँ सरकार बनेपछि आर्थिक संकटको समाधान हुने प्रतिक्रिया दिएका हुन् ।

‘वामपन्थीको सरकार आए देशै धरासायी हुन्छ भन्ने नियोजित हल्ला चलाएर सेयर बजारलाई पनि प्रभावित पार्न खोजेका हुन्, हाम्रो सरकार बनेपछि अहिलेसम्म भएको अस्तव्यस्तता स्वत अन्त्य हुनेछ,’ ओलीले भने ।

उनले लगानीकर्तालाई त्रसित बनाएर आर्थिक रुपमा देशलाई कमजोर पार्न खोजिएको आरोप पनि लगाए ।

‘तपाईंहरु शेयर बजार गिरेको देखेर नआत्तिनुहोस्, यो राष्ट्रिय पुँजी बजारको सवाल हो, केही तत्वहरुले यसलाई धमिल बनाउन खोजेका छन् । त्यस्ता आतंक मच्चाउने तत्वको पहिचान हुन्छ,’ संघका पदाधिकारीसँग ओलीले भने ।

यस्तै बधाइ दिन आएको सञ्चार उद्यमीहरुको टोलीलाई अध्यक्ष ओलीले दलीय सहमतीबाट तयार गरिएको राष्ट्रियसभा गठन सम्बन्धि प्रस्ताव सरकारले स्थानीय तहको निर्वाचन पछि संसदमा पेश नगरेको बताए ।

‘नियतबश त्यो प्रस्ताव सरकारले बेला छउन्जेल अगाडि बढाएन अहिले आफ्नो अनुकुल बनाएर अध्यादेशको रुपमा राष्ट्रपतिकहँँ पु¥याएको छ, राष्ट्रपतिलाई अकारण विवादमा तान्ने प्रयासस्वरुप यो भइरहेको हो,’ ओलीले भने ।


क्लिकमान्डु