अत्याधुनिक बारुण यन्त्र भित्र्याउन ‘फायरट्रक एक्सिपिडिसन नेपाल’ हुँदै



काठमाडौं । नेपालमा अत्याधुनिक बारुण यन्त्र भित्र्याउने र हालको बारुणयन्त्रको क्षमतालाई सुधार गर्ने उद्धेश्यका साथ फायरट्रक एक्सिपिडिसन नेपाल अभियान हुने भएको छ ।

अमेरिकाबाट नेपालमा १० वटा अत्याधुनिक अमेरिकन फायर ट्रक भित्र्याएर सरकारलाई अनुदानमा उपलब्ध गराउने योजनाका साथ फायर ट्रक अभियान गर्न लागिएको आयोजकहरुले जानकारी दिएका छन् ।

बुधवार नेपाल पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा आयोजक मध्येका एक माइकल कोबोल्डले नेपालमा अझैपनि आगलागीबाट बचाउन बारुणयत्र आवश्यक भएको भन्दै अमेरिकन फायर ट्रक नेपाल ल्याउन लागिएको जानकारी दिए ।

‘हामीले ल्याउने ट्रक अत्याधुनिक अमेरिकन फायर ट्रक हुन, नेपालमा स्थानिय बारुण यन्त्र विभागलाई हस्तान्तरण गरिनेछ,’ उनले भने ।

सो बारुणयन्त्रहरु नेपालमा हस्तान्तरणपछि निशुल्करुपमा तालिम, मर्मत र आवश्यक पार्टपुर्जाहरु समेत उपलब्ध गराउने र यो अभियानमा विश्वका प्रसिद्ध कलाकारहरुको समेत सहभागीता हुने उनले बताए ।

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपक राज जोशीले यो अभियानले नेपालको पर्यटन प्रबद्र्धन गर्ने हुँदा बोर्डले समेत सहयोग गरेको जानकारी दिए ।

‘यो अभियानमा विश्वका प्रसिद्ध कलाकारहरु सहभागी हुनेछन भने त्यसको बारेमा विश्वका चर्चित संचारमाध्यमहरुमा कभरेज आउने छ,’ जोशीले भने ।

विश्वको सबैभन्दा महंगो कोबोल्ड ब्राण्डको घडि निर्माण कम्पनीका मालिक समेत रहेका माइकल कोबोल्डमार्फत पूर्व अमेरिकी राजदूत स्कट एच डेलिसी, अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन बहादुर कार्कीको अनुगमनमा यो अभियान संचालन हुनेछ ।

अभियानमा विश्वका २५ प्रसिद्ध सेलेब्रिटीहरुको सहभागीतामा बिरगंजबाट पोखरा हुँदै काठमाडौंसम्म फायरट्रक गुडाएर ल्याईनेछ । जसमा सेलेब्रिटीहरुले फायरट्रकको चालकको रुपमा काम गर्नेछन् ।

करिब ८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको सो अभियान संचालन गर्नका लागि कोबोल्डले आफूले लेखेको पुस्तक नेपाल निड्स फायर ट्रक बिक्रीबाट आएको रकम तथा क्राउड फडिंगबाट उठ्ने रकमका साथै प्रायोजक कम्पनीहरुको सहयोग हुने बताईएकोछ ।

यो अभियानलाई पर्यटकिय अभियानको रुपमा संचालन गर्न बोर्डले करिब २ करोड रुपैयाँ सहयोग गर्ने जानकारी दिईयो ।

सन् २०१८ को मार्चमा आयोजना गर्ने उद्धेश्यका साथ शुरु यस अभियानमा टम हार्डी, कोलिन फारेल, म्यालकम म्याकडवेल, स्टींग ब्याण्ड, राजेश हमाल, मनिषा कोईराला, सुनिल उप्रेती लगायतको सहभागीता हुने जानकारी दिईयो ।


क्लिकमान्डु