गौतमलाई हटाउन नसके पछि पद जोगाउन पर्यटन मन्त्री देवले गरे यस्तो हर्कत



बाँया मन्त्री देब र दायाँ महानिर्देशक गौतम

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र नारायण देव र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमबीचको टकरावको चर्चा नागरिक उड्डयन क्षेत्र अझै सेलाएको छैन ।

गौतम अझैपनि पदबाट हट्नु पर्ने हो भन्ने चिन्तामै छन् । तत्कालिन समयमा मन्त्री र मन्त्रालयका सचिव महेश्वर न्यौपानेले महानिर्देशक गौतमलाई हटाउन नसक्ने देखेपछि सहसचिव सुरेश आचार्यलाई दोष देखाएर उम्कन खोजेको भेटिएको छ ।

प्राधिकरणका महानिर्देशक गौतमलाई मन्त्रालयका सचिव न्यौपानेले सदर गरेको स्पष्टीकरण पत्रनै तत्कालिन कार्यबाहक सचिव सुरेश आचार्यले स्पष्टीकरण सोधेको खुलेको हो । स्पष्टीकरण पत्र सदर गरेर सचिव न्यौपाने विदेश गएपछि कार्यबाहकको जिम्मेबारीमा रहेका आचार्यले सोही पत्र गौतमलाई पठाएको समेत पाइएको छ ।

गौतमलाई मन्त्री देवको निर्देशनमा स्पष्टीकरण सोधिएको थियो । उक्त स्पष्टीकरणमा ११ बुदाँ राखेर ७२ घन्टा भित्र चित्त बुझ्दो जवाफ दिन गौतमलाई पत्र काटिएको थियो ।

प्राप्त काजगपत्रका अनुसार उपसचिव खेमनारायण पौडेलले २०७४ भदौ २६ गते स्पष्टीकरणको फाइल तयार गरेर प्रशासन प्रमुख तथा सहसचिव घनश्याम उपाध्ययलाई बुझाएका थिए ।

सचिब महेश्वर न्यौपानेले सदर गरेको स्पष्टीकरणको बुँदा नम्बर ४

सहसचिव उपाध्ययले भदौ २६ नै गते सचिव महेश्वर न्यौपानेलाई सदरको लागि पठाएको पाइएको छ । सोही दिन सचिव न्यौपानेले स्पष्टीकरण पात्र सदर गरेका थिए । सोही फाइललाई सचिव महेश्वर न्यौपानेले सदर गरेर विदेश भ्रमणमा गएका थिए ।

सोही तयार पत्रलाई कुनै पनि फेरबदल नगरी कार्यबाहक सचिव सुरेश आचार्यले गौतमलाई भदौ २८ गते स्पष्टीकरण पत्र पठाएको पाइएको छ । स्पष्टीकरण सोधे लगतै सर्वत्र मन्त्री देवको आलोचना भएपछि यो विषयलाई अन्यत्र मोड्नको लागि आचार्यलाई मन्त्री देवले बुदाँ थपेको भन्दै अर्को स्पष्टीकरण सोधेका थिए ।

तर आचार्यले गौतमलाई पठाएको पत्र र मन्त्रालयमा सचिव न्यौपानेले सदर गरेको फाइलमा एकै किसिमको स्पष्टीकरण पत्र रहेको पाइएको छ । तत्कालिन समयमा कार्यबाहक सचिव आचर्यलाई ४ नम्बर बुदा थपेको आरोप लागेको थियो ।

कार्यबाहक सचिब सुरेश आचार्यले गौतमलाई पठाएको स्पष्टीकरणको बुँदा नम्बर ४

४ नम्बर बुदाँमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पिवान प्रोजेक्ट अन्र्तगत ठेक्का पाएको स्पेनिश कम्पनी सान्होसेसंग सहकार्य गरी काम गर्न नसकेको तथा ठेक्का सम्झौता तोडिएपछि पनि काम अगाडी बढाउन नसकेको बुदाँ राखिएको थियो ।

महानिर्देशक गौतमको विषयलाई लिएर निर्वाचन आयोगले निर्वाचन आचार संहित विपरित मन्त्री देवले गौतमलाई सरुवा गरेको भन्दै २४ घन्टे स्पष्टीकरण सोधेको थियो । तत्कालिन समयमा गौतमको विषयलाई अन्यत्र मोड्नको लागि सहसचिव सुरेश आचार्यलाई मन्त्रालयले उल्टो स्पष्टीकरण सोधेको पाइएको हो ।

महानिर्देशक गौतमले बुझाएको स्पष्टीकरणको जवाफमा चित्त नबुझेको भन्दै मन्त्रालय समेत तानिएको थियो । गौतमलाई हवाई क्षेत्र सुधार कार्यदलको संयोजक तोकिएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्री स्तरीय निर्णय गरिएको थियो । तर निर्वाचन आयोगले उल्टो मन्त्रीलाई स्पष्टीकरण सोधेपछि निर्णयबाट मन्त्री पछि हटेका थिए ।


क्लिकमान्डु