नेप्सेले काट्यो ३४ कम्पनीलाई पत्र



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले नेप्सेमा सुचिकृत ३४ कम्पनीलाई पत्र काटेको छ ।

नेप्सेमा सुचिकृत भएका तर नेप्सेमा बुझाउनु पर्ने शुल्क नतिरेका, बार्षिक साधारण सभा नगरेका, नेप्सेको सम्पर्कमा नआएका र कारोबार रोकिएका कम्पनीहरुलाई किन र के कति कारणले यस्तो भएको हो, जानकारी गराउनु भन्दै पत्र काटेको हो ।

‘लामो समयदेखि कारोबार बन्द भएका र सम्पर्कमा नआएका कम्पनीहरुको हालको अबस्था जानकारी माग्दै हामीले पत्र काटेका छौं ।’ नेप्सेका प्रबक्ता मुराहरि पराजुलीले क्लिकमाण्डुसँग भने ।

लामो समयदेखि कारोबार नभएका उत्पादन मुलक समुहका १२ कम्पनीलाई नेप्सेले पत्रकाटेको छ । त्यस्तै सेवा समुहमा रहेको एउटा कम्पनी, अन्य समूहबाट एउटा कम्पनी, ट्रेडिङ समुहबाट ३ कम्पनी, फाईनान्स समूहका ११ कम्पनी, विकास बैंक समूहका २ कम्पनी र बीमा समूहका २ कम्पनीलाई पत्र काटिएको पराजुलीले जानकारी दिए ।

त्यस्तै एक्युजिसनमा गएका ३ कम्पनी र मर्जर प्रकृयामा रहेको १ बाणिज्य बैंकलाई समेत नेप्सेले पत्रकाटेको छ ।

‘हामीले कम्पनीको अबस्था बारेमा जानकारी संकलन गर्न पत्रकाटेका मध्ये केही कम्पनीले आफ्नो अबस्थाको जानकारी सहित हामीलाई पत्र पठाएका छन्’ पराजुलीले भने ।

उत्पादन समूहमा रहेका १० वटा कम्पनीले पछिल्लो लामो समयदेखि नेप्सेमा तिर्नुपर्ने शुल्क तिरेका छैनन् भने, उनिहरुले आफ्नो बार्षिक साधारण सभासमेत गरेका छैनन् ।

नेप्सेको सम्पर्कमा नरहेका अधिकासं वित्त कम्पनीहरु नेपाल राष्ट्र बैंकले समस्या ग्रस्त घोषणा गरेका कम्पनी रहेका छन् ।


क्लिकमाण्डू