उपत्यकाको तापक्रम शून्य डिग्रीमा झर्ने, सचेत रहन बिज्ञको सुझाव
काठमाडौं । तापक्रम घटेसँगै काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ ।
शनिबार काठमाडौंकोे न्यूनतम तापक्रम २ दशमलब ८ डिग्रीमा झरेको छ । शुक्रबार ३ दशमलब ४ डिग्रीमा पुगेको थियो । तापक्रम घटेकाले उपत्यकामा बढी चिसो महसुस गरिएको छ । चिसोकै कारण आज उपत्यकाका फाँट वरिपरि तुसारो परेको छ ।
तापक्रम घटेर चिसो बढ्नु कुनै नयाँ प्रणालीको प्रभाव नभई मौसमी कारण भएको मौसमविद् मीनकुमार अर्यालले बताए । ‘जाडो याममा चिसो बढ्नु नौलो कुरो होइन तर यसमा उच्चचापीय क्षेत्रको केही प्रभाव (रातको समयमा आकास सफा र खुल्ला) पनि देखिएकाले तुलनात्मक रुपमा तापक्रम घटेको र तुसारो परेको छ,’–उनले भने ।
केही दिनयता पहाडी भेगमा हल्का बदली भएको छ भने मध्यतराईमा कुइरो लागेका कारण चिसो बढेकामा आइतबार बिहानदेखि क्रमिक रुपमा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उपत्यकाको तापक्रम शून्य डिग्रीसम्म पुग्ने
मौसमविद् अर्यालको भनाइमा अझै उपत्यकाको तापक्रम घटेर शून्य डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । गएराति काठमाडौँको तापक्रम माइनसमा झरेको थियो । शनिवार यो वर्षकै बढी चिसो भएको महाशाखाको भनाइ छ ।
दुई दिनदेखि चिसो बढेपछि उपत्यकासहित देशभर यसको प्रभाव सर्वसाधारणमा परेको छ । खासगरी चिसोबाट बच्न बालबालिका र ज्येष्ठ नागरिक सजक हुनुपर्ने विशेषज्ञले औंल्याएका छन् । रासस