सुन्तलाको उचित मूल्य नपाउन किसान चिन्तित



उदयपुर । यस वर्ष उत्पादन भएको सुन्तलाले उचित मूल्य पाउन नसक्दा किसान चिन्तित बनेका छन् ।

ओख्ले, रुपाटार, ठानागाउँ, हर्देनी, मयंखु, सिरीसे, बाहुनीटार लेखगाउँ, रौता, आँपटार, जाँते क्षेत्रमा गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । सुन्तला उत्पादनमा वृद्धि भए पनि उचित मूल्य नपाएको रौता आँपटारका डिल्लीमान राईको गुनासो छ ।

‘उत्पादनमा वृद्धि भएपनि मूल्य पाउन सकेको छैन,’ उनले भने । स्थानीय बजारमा अहिले सुन्तलाको मूल्य प्रतिकिलो  ५० देखि  ७० रुपैयाँ रहेको छ । मूल्य दिनानुदिन घट्दै गएको छ ।

अहिले बाहिरबाट आयातीत सुन्तला सस्तो भएका कारण आफूहरुले उत्पादन गरेको सुन्तला ४० रुपैयाँ प्रतिकिलोका दरले बिक्री गर्नुपरेको ताप्ली गाउँपालिका–७ ओख्लेका कृष्णबहादुर ठकुरी बताउँछन् ।

सुन्तला बिक्रीबाट वार्षिक ४ लाख रुपैयाँसम्म आम्दानी गर्ने ठकुरीले यस वर्ष मूल्य घट्दा यस वर्ष घाटा लाग्ने अवस्था रहेको बताए । मूल्य तोक्ने निकाय नहुँदा र बाहिरबाट सस्तोमा आयातीत सुन्तला भित्रन थालेपछि किसान सस्तोमा बिक्री गर्न बाध्य छन् ।

सुरुमा १ सय रुपैयाँ किलो हुँदै ८० रुपैयाँ किलोसम्म मूल्य रहेको भए तापनि अहिले सुन्तलाको मूल्य ५० रुपैयाँ पुगेको छ । अझै मूल्य घटेमा आफूहरुले सुन्तला नै बिक्री गर्न नसक्ने सुनकोशी गाउँपालिका ठानागाउँका कर्णबहादुर खत्री बताउँछन् ।

पहिला स्थानीय क्षेत्रमा उत्पादित सुन्तलाको बजार राम्रो थियो र उचित मूल्य पाउने गरेको थियो । अहिले बाहिरबाट सस्तो सुन्तला आयत हुन थालेपछि स्थानीय सुन्तलाले मूल्य पाउन नसकेको हो ।

विगतका वर्षमा जिल्लाका केही किसानले सुन्तला बिक्रीबाट ८ लाख रुपैयाँसम्म आम्दानी गरेका थिए । जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा धनकुट्टे र स्थानीय प्रजातिका सुन्तला उत्पादन हुँदै आएको छ । रासस


पुष्प दुलाल