आफ्नै पार्टीले हरायो कि जनताले हराए बामदेब र नारायणकाजीलाई ?




काठमाडौं । देशभर बामगठबन्धको पक्षमा जनलहर चुलिएको समयमा गठबन्धनका दुबै सुत्राधारले पराजयको सामना गर्नु परेको छ ।

एमालेको तर्फबाट पार्टी उपाध्यक्ष तथा प्रभावशाली नेता बामदेब गौतम र माओबादी केन्द्रको तर्फबाट पार्टी उपाध्यक्ष तथा प्रभावशाली नेता नारायणकाजी श्रेष्ठले एमाले माओबादी गठबन्धनको बिजारोपण गरेका थिए ।

तर, यी दुबै सुत्राधार निर्वाचनमा पराजित भए ।

श्रेष्ठ गोर्खा २ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भए भने गौतम बर्दिया १ बाट पराजित भए । चुनाबपछि एमाले र माओबादी केन्द्रबीच पार्टी एकिकरण गर्नेसम्मको वातावरण बनाउन ठूलो पहल गरेका दुबै नेताको पराजय संयोग मात्रै भए पनि अनौठो संयोग बनेको छ ।

गौतमलाई माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भाबी प्रधानमन्त्रीका रुपमा समेत प्रस्तुत गर्दै आएका थिए । यद्यपि दाहालको यस्तो प्रस्ताव एमाले माओबादी गठबन्धन हुनु अगाडिकै थिए ।

गौतम २०५४ सालमा एमाले विभाजन गरी नेकपा माले गठन गर्ने प्रमुख नेता थिए । सो समयमा एमाले विभाजन भएपछि २०५६ सालमा भएको आम निर्वाचनमा एमालेको अबस्था राम्रो भएको थिएन । सो निर्वाचनमा नेपाली काँग्रेसले स्पष्ट बहुमत पाएको थियो ।

यस्तै श्रेष्ठ माओबादी पार्टी शान्तिप्रक्रियामा आएपछि आफ्नो पार्टी मसाललाई माओबादीसँग एकिकरण गरेर माओबादी बनेका थिए । अहिले माओबादीको उपाध्यक्ष बनेपछि श्रेष्ठ माओबादीले ससस्त्र आन्दोलन गर्दा सो पार्टीमा थिएनन् ।

निर्वाचनको यो परिणामपछि गौतम र श्रेष्ठ दुबैले वा उनीहरुका निकटहरुले अन्तरघातको आरोप लगाउने करिब निश्चित छ । दुबै नेताले गरेको प्रयास अर्थात बाम गठबन्धनले करिब दुई तिहाइ बहुमत ल्याउने अबस्था आएपनि दुबै नेताले पराजयको सामना गरेका छन् ।


क्लिकमान्डु