उदारिकरण सुरु गर्ने दुबै नेता पराजित, अरु पूर्वअर्थमन्त्री सबै विजयी




काठमाडौं । नेपालमा २०४८ सालपछि बिभिन्न समयमा अर्थमन्त्री बनेका पात्रहरु हुन्, महेश आचार्य, भरतमोहन अधिकारी, डा. रामशरण महत, बाबुराम भट्टराई, सुरेन्द्र पाण्डे, बर्षमान पुन, कृष्णबहादुर महरा र ज्ञानेन्द्र बहादुर कार्की ।

यसपटकको निर्वाचनमा यी पूर्व अर्थमन्त्री मध्ये भरतमोहन अधिकारी चुनावी मैदानमा उत्रेका थिएनन् भने अरु सबै अर्थमन्त्री भएकाहरु चुनावी मैदानमा उत्रिएका थिए ।

२०४६ मा प्रजातन्त्र पुनस्थापना भएपछिको आर्थिक सुधार र उदारिकरणको सुरुआत अर्थराज्यमन्त्रीको रुपमा आचार्य र राष्ट्रिय योजना आयोगको उपाध्यक्षको रुपमा डा. महतले गरेका थिए । आचार्यले दोहोर्याएर अर्थमन्त्रालयको जिम्मेवारी नपाए पनि डा. महतले २०५१ मा पहिलो पटक चुनाब जितेपछि पटक पटक गरी ७ चोटी अर्थमन्त्रालयको नेतृत्व गर्ने अबसर पाए ।

महेश आचार्य मोरङको क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उम्मेद्वार बनेका थिए । उनी बाम गठबन्धनका अमनलाल मोदीबाट पराजित भए । मोदीले आचार्यलाई ५ हजार मतका फरकले हराएका हुन् ।

मोदीले २८ हजार १६२ मत प्राप्त गरे । कांग्रेसका आचार्यले २३ हजार ६८९ मतमात्र ल्याउन सके ।

२०५१ सालको मध्यावधि निर्वाचनबाट बिजय यात्रा सुरु गरेका डा. महतले त्यसपछिका कुनैपनि निर्वाचन हारेका थिएनन् ।

२०५१ सँगै २०५६, २०६४ र २०७० मा निर्वाचित महत यसपटकको निर्वाचनमा वामगठबन्धनका उम्मेदवार हितबहादुर तामाङ भन्दा निकै पछाडि रहेका छन् ।

अब उनको चुनाव जित्ने आशा लगभग समाप्त भैसकेको छ । ७ पटक अर्थमन्त्री भएर देशको अर्थतन्त्रलाई हाँकेका महतलाई यसपटकको निर्वाचनले थाला पार्ने निश्चित भएको छ । प्रजातन्त्र पुनस्थापनापछि पहिलोपटक भएको निर्वाचनमा २०४८ सालमा डा. महत पराजित भएका थिए । उनी निर्वाचनमा पराजित भएपनि राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बन्ने अबसर पाएका थिए ।

डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचन जितेका छन् । पछिल्लो समय मुलधारको राजनीतिक दलबाट बाहिरेका भट्टराईले नयाँ शक्ति पार्टी खोल्दै राजनीति गरिरहेका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले ७ हजार मतान्तर सहित माओवादी केन्द्रका प्रभाबशाली नेता नारायणकाजी श्रेष्ठलाई पराजित गरेका हुन् । उनले ३१ हजार ८०७ मत ल्याएका थिए ।

अर्काे पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे चितवन क्षेत्र नम्बर २ बाट चुनावी प्रतिस्पर्धामा रहेका छन् । उनले आफ्नो प्रतिस्पर्धीलाई उछिनि रहेका छन् । यसअघि पनि चितवनबाट निर्वाचित सुरेन्द्र पाण्डे माधब नेपाल प्रधानमन्त्री हुँदा अर्थमन्त्री बनेका थिए ।

बामगठबन्धनको तर्फबाट उम्मेद्वार बनेका पाण्डेले चुनवा जित्ने आँकलन गरिएको छ ।

बर्षमान पुन माओवादी केन्द्रका प्रभावशाली नेतामा पर्छन् । झलनाथ खनाल प्रधानमन्त्री हुँदा अर्थमन्त्री रहेका उनले रोल्पाबाट चुनाव जितेका छन् । उनले आफ्ना प्रतिस्पर्धीलाई २० हजार ७४१ मतले पराजित गरेका छन् ।

पुनले ४० हजार ६४७ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका अमरसिंह पुनले १९ हजार ९०६ मत मात्रै ल्याए ।

बिष्णु पौडेल नेकपा एमालेको नेतृत्वमा केपी ओली प्रधानमन्त्री हुँदा अर्थमन्त्री बनेका हुन् । उनी एमाले भित्र निकै चर्चित नेता हुन् । यस अघिको निर्वाचनमा माओवादीका तात्कालीन नेता बाबुराम भट्टराईलाई हराएर उनी बुटवलबाट निर्वाचित भएका थिए । यस पटकको निर्वाचनमा उनले आफ्नो प्रतिस्पर्धीलाई २२ हजार मतान्तरले हराएका छन् । पौडेलले ४४ हजार ३ मत प्राप्त गर्दा उनको प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवारले २१ हजार ९ सय ३७ मत प्राप्त गरेका थिए ।

कृष्णबहादुर महरा पछिल्लो पुष्पकमल दाहालको नेतृत्वमा बनेको सरकारमा अर्थमन्त्री थिए । उनले ९ महिना सरकारमा अर्थमन्त्रीको भूमिका निर्वाह गरेका छन् । दाङ क्षेत्र नम्बर २ बाट निर्वाचन लडेका महरा लामो समय भूमिगत राजनीति गरेर आएका ब्यक्ति हुन् । यसअघि २०७० मा रोल्पाबाट निर्वाचन जितेका महरा २०६४ मा दाङबाट निर्वाचित भएका थिए । उनले यसपटक १४ हजार मत अन्तरले विजय पाएका छन् । महराले ३९ हजार ९ सय ५९ मतप्राप्त गर्दा उनका प्रतिस्पर्धी नेपाली कांग्रेस उम्मेदवार तथा पूर्वसांसद राजु खनालले २६ हजार ३६ मत पाएका थिए।

ज्ञानेन्द्रबहादुर कार्की बर्तमान अर्थमन्त्री हुन् । उनी यसअघि कहिल्यै चुनावमा सफल हुन सकेका थिएनन् । यसपटक आफ्नो निर्वाचन क्षेत्र छाडेर सुनसरी झरेका कार्कीले अग्रता बनाई रहेका छन् । उनले अहिलेसम्म करिब ४ हजार मतान्तरले अग्रता बनाई रहेका छन् ।


क्लिकमान्डु