धुलोका कारण मेलम्चीको पाइप बिच्छ्याउन खनिएको सडक कालोपत्र



काठमाडौँ । मेलम्चीको पाइप बिच्छ्याउन खनिएको सडकका पाइप परीक्षण नहुँदै धुलोले कुहिरीमण्डल भएपछि कालोपत्र गर्न थालिएको  छ ।

पाइप बिच्छ्याउन एक वर्षअघि खनिएको सडक कालोपत्र नहुँदा हिउँदमा धुलो र वर्षामा हिलोको समस्या थियो । पाइप परीक्षण सफल भएपछि कालोपत्र गरिनुपर्नेमा उपत्यकाका मुख्य सडकमा आवतजावत गर्न  समस्या भएकाले कालोपत्र गर्न थालिएको सडक विभागले जनाएको छ ।

मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयको समन्वयमा कालोपत्र गर्न शुरु गरिएको विभागका प्रवक्ता मुक्ति गौतमले जानकारी दिए । हाल चाबहिल, गौशाला सडकमा कालोपत्र गर्न थालिएको छ । केही भागमा पाइप बिच्छ्याउन बाँकी भए पनि काम सकिएका स्थानमा कालोपत्र शुरु गरिएको क्षेत्रीय निर्देशक शिवहरि सापकोटाले बताए ।

‘जयबागेश्वरी–मित्रपार्क क्षेत्रका केही ठाउँमा पाइप बिच्छ्याउन बाँकी रहेपनि यात्रु एवं स्थानीयवासीले धुलोका कारण आवतजावतमा समस्या भएको गुनासो गरेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखा र काठमाडौँ महानगरपालिकाको समन्वयमा कालोपत्र शुरु भएको हो,’ उनले भने ।

लैनचौर, लाजिम्पाट सडकमा पनि धुलोको समस्या बढेकाले यहाँ पनि कालोपत्र शुरु गर्ने तयारी गरिएको निर्देशनालयले जनाएको छ ।

यो सडकमा विशिष्ट व्यक्तिको आवागमन हुने भएकाले पाइप बिच्छ्याएर पानी परीक्षण गर्न बाँकी भए पनि कालोपत्र गर्न लागिएको हो । आयोजनाले पाइप बिच्छ्याउन खनेका सडकमध्ये ६० किमी सडक कालोपत्र गर्ने जिम्मेवारी सडक विभागलाई दिइएको छ ।

पाइप बिच्छ्याइएका सडकमध्ये थापाथली–माइतीघर ४०० मिटर र माइतीघर–सिंहदरबार ६०० मिटर सडकको काम मात्र सकेर विभागलाई जिम्मेवारी दिइएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले बताए।

‘महाराजगञ्ज–लाजिम्पाट तीन किमी, चाबहिल–गौशाला एक किमी, थापाथली–माइतीघर–सिंहदरबार एक किमीलगायत सडकको काम सकेर हस्तान्तरण गरिएको छ,’ उनले भने ।

पाइप बिच्छ्याउन खनिएका सडकमध्ये ६० किमी विभाग र ११० किमी निर्देशनालयले कालोपत्र गर्नेछन् । निर्देशनालयले कालोपत्र गर्ने सडकमध्ये हालसम्म १३ किमी सडकको काम सम्पन्न भएको छ । कोटेश्वरमा आठ किमी र बाँकी पाँच किमी अन्यत्र कालोपत्र गरिएको प्रवक्ता ढकालले बताए ।


क्लिकमान्डु