उपेन्द्र यादवको क्षेत्रमा मतगणना १ बजेबाट शुरु



फाइल

सप्तरी । प्रतिनिधि र प्रदेशसभा निर्वाचनअन्तर्गत  सप्तरीमा मतगणना कार्य आज दिउँसो १ बजेबाट शुरु भएको छ ।

जिल्ला मुख्य निर्वाचनको कार्यालयका प्रमुख हरिश्चन्द्र ढुंगाना र सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेय र निर्वाचनमा भाग लिएका विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिबीचको छलफलपछि दिउँसो १ बजेदेखि मतगणना कार्य शुरु भएको प्रजिअ पाण्डेले बताए ।

मतगणना गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा भइरहेको छ । साथै, सुरक्षा व्यवस्था समेत कडा बनाइएको छ । मतगणना कार्य सर्वप्रथम सप्तरी निर्वाचन क्षेत्र नं २ बाट शुरु भएको बताउँदै त्यसपश्चात अन्य निर्वाचन क्षेत्रको पनि शुरु हुने बताइएको छ ।

सप्तरी जिल्लामा चार प्रतिनिधिसभा र आठ प्रदेशसभाका लागि १५२ उम्मेदवार रहेको बुझिएको छ । सप्तरी जिल्लामा बिहीबार सम्पन्न मतदानमा ६० प्रतिशत मतदान भएको थियो ।

सप्तरी निर्वाचन क्षेत्र नं २ मा संघीय समाजवादी फोरमका उपेन्द्र यादव र नेकपा (माओवादी केन्द्र)का उमेश यादव र स्वतन्त्र उम्मेदवार जयप्रकाश ठाकुरबीच प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा रहेको छ  ।


क्लिकमान्डु