भूकम्पले क्षति पुर्याएको ३१ महिनापछि बन्यो बरम्ची खोला जलविद्युत् आयोजना



शाङकेतिक तस्बिर

काठमाडौं । गोरखा भूकम्पबाट क्षतिग्रस्त बराम्ची जलविद्युत् आयोजनाको पुनः निर्माणको काम सकिएको छ ।

सिन्धुपाल्चोकमा आयोजना स्थल रहेको बरम्ची साना जलविद्युत आयोजनाबाट ३१ महिनापछि पुनः उत्पादन शुरु भएको हो ।

खोलामा पानी घटेको कारण हाल १ दशमलव ८ देखि २ मेगावाट विद्युत उत्पादन सुरु भइ लामोसाँघुस्थित सव-स्टेशनमार्फत राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ ।

आयोजना प्रमुख एम थापाकाअनुसार कुल ४.२ मेगावाट क्षमताको उक्त आयोजना पुनः निर्माणमा लामो समय लाग्दा ठूलो घाटा पुगेको बताइएको छ ।

जुगल गाउँपालिकाअन्तर्गत साविक बरम्ची गाविसस्थित बरम्ची खोलामा सञ्चालित क्षतिग्रस्त सो आयोजनालाई मर्मत गरी २०७३ साउन ४ गते सञ्चालनमा ल्याइए पनि बाढी र पहिरोले तीन दिनपछि आयोजनालगायत सर्वसाधारणको कैयौँ रोपनी जग्गा जमिनसमेत पुरेको थियो ।

भू–गर्भविद्का अनुसार पेनस्टक पाइप राखिएको स्थान कमजोर भू–भाग भएका कारण करिब २५० मिटर सुरुङ मार्ग निर्माणको लागि अध्ययन गर्ने सोचाइ भइरहेको आयोजना प्रमुख थापाले बताउनुभयो । लामो समयसम्म आयोजना बन्द भई पटकपटक मर्मत गर्नु पर्दा आयोजनाले करोडौँ घाटा बेहार्नुपरेको बताइएको छ ।


क्लिकमान्डु