जागिर नखानेले पनि अब सञ्चय कोषमा रकम जम्मा गर्न पाउने



काठमाडौं । कर्मचारी सञ्चय कोषले व्यक्तिगत रुपमा समेत कोष जम्मा गर्ने योजना अगाडि सारेको छ । कोष सञ्चालक समितिको बैठकले सो विषयमा आवश्यक निर्णय गरेपछि व्यक्तिगत रुपमा समेत कोष जम्मा गर्न पाउने मार्ग प्रशस्त हुने भएको हो ।

कोषमा हाल ६ लाखले कोष कट्टी गर्दै आएका छन् । स्वरोजगार, अनौपचारिक क्षेत्रमा काम गरिरहेका नागरिक तथा नीजि क्षेत्रमा कार्यरत कर्मचारीलाई समेत कोषमा सहभागी गराउने लक्ष्यका साथ नयाँ कार्ययोजना अगाडि बाउन लागिएको हो ।

कोषको कुल कोषलाई ७०० अर्ब पुर्याउने लक्ष्यका साथ अनौपचारिक क्षेत्रमा काम गर्नेलाई समेत सहभागी गराउन लागिएको निमित्त प्रशासक दीपक रौनियारले जानकारी दिए ।

यस्तै वैदेशिक रोजगारीमा रहेका नागरिकलाई समेत कोषको सदस्य बनाउने र रकम जम्मा गर्न प्रेरित गर्ने लक्ष्य कोषले राखेको छ । हाल औपचारिक र अनौपचारिक रुपमा गरी देशका करिब ५० लाख युवा वैदेशिक रोजगारीमा छन् ।

नेपालको हालको कुल बजेट बराबरको पूँजी बनाउने लक्ष्यका साथ कोषले आक्रामक रुपमा कार्ययोजना अगाडि सारेको छ ।

उनीहरुले विप्रेषणका रुपमा पठाउने रकमलाई सोझै कोषमा जम्मा गर्ने वा घर परिवारका सदस्यले जम्मा गर्न सक्ने गरी सहज कार्यविधि बनाइने छ ।

बुढेसकालमा पेन्सनको रुपमा समेत उक्त कोषमा जम्मा गरिएको रकम खर्च गर्न सक्ने गरी योजना तयार पारिएको निमित्त प्रशासक रौनियारको भनाइ छ ।

जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृतको रुमपा चार वर्ष सेवा गरेपछि आफूले नै सुरु गरेको रेमिट्यान्स हाइड्रोको अवधारणा अगाडि बढेको सन्दर्भमा वैदेशिक रोजगारमा रहेका नागरिकले कमाएको रकम सदुपयोग होस् भन्ने तर्फ कोषले ध्यान दिएको उनको भनाइ छ ।

अहिले कमायो, भोलि जस्ताको तस्तै रहने अवस्था अन्त्य हुनुपर्छ र वचत गर्ने बानी समेत सिकाउनु पर्छ भन्ने दायित्वका साथ कोषले सहज रुपमा सबै वर्ग तथा क्षेत्रका नागरिकलाई रकम जम्मा गर्न पाउने सहज व्यवस्था गर्न लागेको हो ।

नेपालको हालको कुल बजेट बराबरको पूँजी बनाउने लक्ष्यका साथ कोषले आक्रामक रुपमा कार्ययोजना अगाडि सारेको छ । त्यसले आगामी दिनमा सबल र सक्षम आर्थिक संस्थाको रुपमा समेत कोष अगाडि बढ्ने छ । त्यसले नेपालको आन्त्रिक लगानीमा विविध स्रोत तथा आयामहरुका बारेमा समेत सहज मार्ग निर्देशन गर्नेछ ।

कोषमा हाल २५० अर्ब रकम रहेको छ । कोषले जलविद्युत्, वायु सेवालगायतका क्षेत्रमा लगानी गरेको छ ।


क्लिकमान्डु