१२ अर्ब निक्षेप संकलन गरेका बैंकले २५ अर्ब कर्जा दिए



काठमाडौं । बैंकहरुको निक्षेप संकलन र कर्जा प्रवाहमा असन्तुलन देखिएको छ । पछिल्लो एक महिनाको अवधिमा बैंकहरुले निक्षेपको तुलनामा दोब्बले ऋण दिएका छन् ।

निक्षेप र कर्जाको यही प्रवृत्ति अझै केही समय रहने हो भने बैंकहरु छिट्टै नै कर्जा दिन नसक्ने अवस्थामा पुग्नसक्ने देखिन्छ ।

पछिल्लो एक महिनामा बैंकहरुले जम्मा १२ अर्ब रुपैयाँले निक्षेप बढाएका छन् । तर, यही अवधिमा बैंकहरुले २५ अर्ब रुपैयाँ कर्जा बढाएका छन् ।

राष्ट्र बैंकका अनुसार कात्तिक पहिलो साता वाणिज्य बैंकहरुले २१ खर्ब ६१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १८ खर्ब १२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । मंसिर पहिलो सातासम्म आइपुग्दा बैंकहरुको निक्षेप २१ खर्ब २१ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा १८ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ ।

एक महिनाको अवधिमा निक्षेपको वृद्धिदर ०.३७ प्रतिशत हो भने कर्जाको वृद्धिदर ०.७७ प्रतिशत हो ।

निक्षेपको भन्दा कर्जाको वृद्धिदर बढेपछि बैंकहरुलाई कर्जा निक्षेप अनुपात (सीडी रेसियो) मेन्टेन गर्न निकै कठिन हुने देखिएको छ । अहिले बैंकहरुको सीडी रेसियो ८४.५३ प्रतिशत पुगेको छ । जबकी महिना दिनअघि यस्तो रेसियो ८३.८५ प्रतिशत थियो ।

सरकारले विकास खर्च गर्न नसक्दा त्यसको असर बैंकहरुको तरलतामा देखिएको हो ।

चुनाबमा भएको खर्च बजारमा आउन थालेपछि भने निक्षेप पनि बढ्ने बैंकरहरुको अपेक्षा छ । साथै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि सरकारी खर्च बढ्ने अपेक्षा गरिएको छ ।

महिना अघिसम्म बैंकहरुलाई तरलता अभावको चाप परेको थियो । तर, साउन भदौयता भने बैंकहरुलाई तरलताको समस्या परेको छैन ।


पुष्प दुलाल