नुवाकोटका २८२ भूकम्प पीडितलाई घर हस्तान्तरण



नुवाकोट । स्थानीय किस्पाङ गाउँपालिकाको मनकामना साबिकको मनकामना गाविसका एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा निर्माण गरिएको भूकम्प प्रतिरोधी घर हस्तान्तरण गरिएको छ ।

वल्र्ड रिन्युको सहयोगमा नारी जागरण केन्द्र नेपालले साबिकको मनकामना गाविस–४, ६ र ७ मा रहेको ३२३ लाभग्राहीमध्ये २८२ घरको पुनः निर्माण गरी घरधनीलाई हस्तान्तरण गरेकोे हो ।

भूकम्प पीडितलाई घर हस्तान्तरण गर्दै राष्ट्रिय पुनः निर्माण प्राधिकरणका सहसचिव एवं प्रवक्ता यमलाल भुसालले भूकम्पले क्षति भएका घरको पुनः निर्माण सन्तोषजनक नरहेको अवस्थामा गैरसरकारी संस्थाको सहयोगमा एउटा जिल्लामा २८२ घरको पुनः निर्माण हुनु अन्य जिल्लाका लागिसमेत प्रेरणा मिलेकोे बताए ।

उनले भूकम्पपछिको पुनः निर्माणका लागि सहुलियत ऋणको व्यस्थापनका लागि कार्य अगाडि बढेकामा प्राधिकरणले तयार पारेको कार्यविधिअनुसार बैंकले ऋण दिन तयार रहे पनि ऋण तिर्ने मापदण्ड नबनेकाले ढिलाइ भएको उल्लेख गरे ।
साबिकको मनकामना गाविसमा १८ करोडको लागतमा २८२ घर पुनः निर्माण गरिएको हो । कूल ३२३ भूकम्पपीडित भएपनि २८८ घरसँग मात्रै सम्झौता भएको बताइएको छ ।

उक्त संस्थाले भूमेदेवी मावि, कार्की मनकामना मावि लगायतका विद्यालयलाई शैक्षिक लगायतका अन्य सामग्री सहयोग स्वरूप उपलब्ध गराएको छ ।


क्लिकमान्डु