बाढीले बगाएको ३२ पुल बनाउन साढे १६ करोड लाग्ने, केही कार्यालयले लागत विवरण पठाएनन्




काठमाडौं । बर्षाको सिजनमा बाढीले बगाएका तराई क्षेत्रका ३२ पुल बनाउन १६ करोड ५० लाख रुपैयाँ लाग्ने भएको छ ।

बाढीले क्षतिग्रस्त बनाएका पुल मर्मत संभारका लागि १६ करोड ५० लाख रुपैयाँ लाग्ने पुल महाशाखाका इन्जिनियर विमलकूमार बस्नेतले जानकारी दिए ।

‘५ वटाल डिभिजन सडक कार्यालयलले पुल मर्मतका लागि लागतसहित पत्र पठाएका छन्, उनीहरुले पठाएको लागत विवरण अनुसार पुल बनाउनको लागि साढे १६ करोड रुपैयाँ खर्च लाग्ने देखिएको छ,’ बस्नेतले क्लिकमाण्डूसँग भने ।

डिभिजन सडक कार्यालय चन्द्रनिगाहापुरले भत्केको पुलको मात्र विवरण पेश गरेको छ ।

पुल निर्माणका लागि लागत पठाएका डिभिजन कार्यालयहरुले पनि एकमुष्ठ रकम माग गरेका छन् । ती कार्यालयहरुले प्रत्येक पुल मर्मतका लागि लाग्ने खर्चको एकिन विवरण नपठाएका बस्नेत बताउँछन् ।

‘हामीले प्रत्येक पुल मर्मतमा लाग्ने खर्चको एकिन विवरण सहित मत्र पठाउन माग गरेका छौं, प्रत्येक पुलको एकिन विवरण आएसँगै पैसा उपलब्ध गराउछौं,’ उनले भने ।

बाढीले क्षति पुगेका पुलहरु
पुल महाशाखाका अनुसार बाढीले ३२ वटा पुलमा क्षति पुर्याएको छ ।

डिभिजन सडक कार्यालय झापा अन्तरगत पर्ने ४ वटा पुलमा बाढीले क्षति पुर्याएको छ । कन्काई, सुरुङ्गा खोला, पाली खोला र हिडिया पुल मर्मतका लागि ३ करोड रुपैयाँ माग गरिएको छ ।

यस्तै, डिभिजन सडक कार्यालय लाहान अन्तरगतका बाढीले ६ वटा पुलमा क्षति पुर्याएको छ । खडक खोला, दुधैला खोला, गहिदी खोला, कोशीघाट खोला, बृधना खोला र कठौना बजारको खोला पुल मर्मतका लागि २ करोड रुपैयाँ माग गरिएको छ ।

डिभिजन सडक कार्यालय हेटौडा अन्तरगतका ५ वटा पुल बाढीले भत्काएको छ । धन्सार खोला, दुधौरा खोला, रापती खोला र तीन नम्बर पुल मर्मतका लागि ५ करोड रुपैयाँ माग गरिएको छ ।

डिभिजन सडक कार्यालय जनकपुर अन्तरगतका ५ वटा पुलमा बाढीले क्षति पुर्याएको छ । जंघा पुल, रातु खोला, बडहरी खोला, गेरुकी खोला, रात खोला पुल कल्भर्ट मर्मतका लागि ४ करोड ५० लाख रुपैयाँ माग गरिएको छ ।

डिभिजन सडक कार्यालय भरतपुर अन्तरगतका पनि ५ वटा पुलमा बाढीले क्षति पुर्याएको छ । किसाननगर कल्भर्ट, जवाङ्ग खोला कल्भर्ट, हुम्दी खोला, सोप्याङ्ग पुल र खटौती पुल निर्माणका लागि २ करोड रुपैयाँ माग गरिएको छ ।

डिभिजन सडक कार्यालय चन्द्रनिगाहापुर अन्तरगतका ५ वटा पुलमा बाढीले क्षति पुर्याएको छ । अमुवा पुल, लालबकैया पुल (जुङलेसाही), लालबकैया पुल (कटहरिया), लालबकैया पुल (जयनगर मौलापुर सडक) मा क्षति पुगेको भएपनि पुननिर्माण र मर्मतमा लाग्ने लागत विवरण पेश गरिएको छैन ।

डिभिजन सडक कार्यालय नेपालगंज अन्तरगतका २ वटा पुलमा बाढीले क्षति पुर्याएको छ । जब्दिघाट पुल र बैदाको पुल (जब्दिघाट जोड्ने) को पनि लागतविवरण पेश भएको छैन ।

पुल महाशाखाका अनुसार नेपालमा साना ठूलागरि १७ सयभन्दा धेरै पुल छन् । ती पुलहरुको मर्मत संभारका लागि ३३ वटा डिभिजन सडक कार्यालय छन् ।


क्लिकमान्डु