सेयरमा लगानी गरेर यसरी मालामाल कमाउन सकिन्छ अमेरिकामा



अमेरिका आएको झण्डै दुई वर्षपछि केही महिना अघि मात्रै एक मित्रले सेयरमा लगानी गरेर पुरा समय दिन सकियो भने अरु केही कामै गर्न पर्दैन भन्दै सुनाए । ती मित्रले पनि सेयर बजारमा लगानी गरेर निकै राम्रो आम्दानी लिइरहेका छन् ।

खासमा हामीमध्ये कतिलाई यहाँको सेयर बजारमा प्रवेश गर्ने तरिका तथा लगानी डुब्छ होला भन्ने डरको कारण बजारबाट लिनसक्ने फाइदाबारे बेखबर छौं । अर्कोतिर कतिपयले नेपालको जस्तो झन्झटिलो होला भनेर पनि बजारतिर ध्यान नदिएको हुनसक्छ मलाई पनि त्यस्तै भएको थियो । तर यहाँको पुँजी बजारमा लगानी गरे गुम्ने मात्र होईन कमाउन पनि सकिन्छ ।

सेयरमा लगानी गर्ने भन्ने बित्तिकै नेपाली समुदाय पैसा डुब्ला भनेर डराउने गरेका छन् । अमेरिकामा बसेका नेपालीहरु कतिपय अझैसम्म पनि सेयर बजारमा सक्रिय लगानी गर्न डराईरहेको पाईन्छ । केही बचत भएको पैसा सेयरमा लगानी गर्नुस् भन्यो भने यसलाई पैसा गुम्ने ठाउँ ठान्ने अधिकांश नेपाली छन् ।

तर, अमेरिकामा निकै व्यक्तिहरु सेयर बजारमा लगानी गरेरै निकै राम्रो आम्दानी गर्न सफल हुनेहरु छन् । जसले सेयर बजारको थोरै मात्र अध्ययन गरेर लगानी गर्न सक्यो भने अरुकोमा काम गरेर घण्टाको हिसाबले कमाउने भन्दा धेरै आम्दानी गर्न पनि सकिन्छ ।

दीर्घकालीन लगानी

अमेरिकामा खासगरि दीर्घकालीन र तत्कालिन दुई किसिमको सेयरमा लगानी गरिन्छ । दीर्घकालीन रुपमा सेयरमा लगानी गर्नको लागि तपाईंले कम्पनीको अध्ययन गरेर राम्रो वित्तीय तथा आर्थिक विवरण हेरेर सबै अवस्था राम्रो भएको कम्पनीमा लगानी गर्नु भयो भने पैसा डुब्ने संभावना निकै नै कम हुन्छ । यसको साथै तीन–तीन महिनामा लाभांस पनि पाईन्छ । (अमेरिकामा प्राय कम्पनीले त्रैमासिक लाभांस वितरण गर्दछन् ।)

लेखक खतिवडा

लाभांस बाहेक सेयर मुल्यमा समेत ठूलो गिरावट नआउने भएकाले यसबाट निकै ठूलो फाईदा लिन सकिन्छ । अहिले यहाँरहेका धेरै नेपालीहरुले दीर्घकालको लागि सेयर बजारमा लगानी गरेका पनि छन् । तर, अमेरिकामा बाहिर राम्रो देखिएका सबै कम्पनीको सेयर बजारमा पनि राम्रो प्रगति गरेका भने छैनन् कतिपय कम्पनीको सेयर मुल्य वर्षौैंदेखि एकै स्थानमा रहेका पनि छन् । कतिको उच्च गिरावट आएको पनि । लगानी गर्नुपूर्व कस्तो कम्पनीको छनौंट गर्नुहुन्छ त्यसले तपाईको मुनाफाको हिसाब निकाल्ने छ ।

अल्पकालीन लगानी

अमेरिकी सेयरबजारमा निकै प्रचलित एक शब्द छ पेनी स्टक ( जो एकदमै जोखिम रहेका कम्पनीको सेयरमा पनि लगानी गरिन्छ । अर्थात् कम्पनीको कुनै अवस्थालाई प्राथमिकता दिनुभन्दा पनि सेयर बजार बढेको वा घटेको हेरेर लगानी गरिन्छ र थोरै नाफा हुनेवित्तिकै बेच्ने गरिन्छ । यसबाट पनि केही फाईदा लिन सकिन्छ तर तपाईमा जोखिम बहन गर्न सक्ने क्षमता भने निकै उच्च हुनुपर्छ अर्थात संधै फाईदा नहुन पनि सक्छ ।

कतिपय अवस्थामा पेनी स्टकले नै धेरै कमाउने पनि देखिन्छन् भने यसबाटै निकै गुमाउने पनि । यस्ता कम्पनीहरुमा एक किसिमले जुवाघरमा जस्तै लगानी हुने भएकोले निकै चलाखो हुनु जरुरी छ ।

स्वचालित छ सेयर बजार

नेपाली सेयर बजारमा थोरै राजनीतिक उथलपुथल भयो भने बजार पनि रातो र हरियो हुने गर्छ । तर यहाँको सेयरबजार राजनीतिक भन्दा पनि कम्पनीको अवस्थामा केन्द्रीत हुने गर्दछ अर्थात कम्पनीको केही राम्रो समाचार तथा केही खराब समाचार आयो भने त्यसको सिधा असर अत्कालै सेयर बजारमा देखिन्छ ।

त्यसैले देशको अवस्था भन्दा पनि सेयर बजारमा लगानी गर्नेहरुले आफूले लगानी गरेको कम्पनीको अवस्थालाई धेरै ध्यान दिनु जरुरी छ । अमेरिकाको सेयर बजारमा नेपालमा जस्तो क्षेत्रगत असर देखिँदैन अर्थात बैंकहरुको सेयर ह्वात्तै बढ्ने र अरु कम्पनीको सेयर न्यून हुने देखिँदैन । जस्तो यहाँको ठूलो बैंक बैक अफ अमेरिकाको सेयर मुल्य अहिलेपनि न्यून नै रहेको छ भने अनलाईन व्यापार गर्ने कम्पनी अमेजोनको उच्च ।

साधारण सेयर पनि गर्न सकिन्छ लगानी

सामान्यतया नेपालमा साधारण सेयर(आईपिओ) भन्नेवित्तिकै सेयर भर्नको लागि निकै हतारिएका देखिन्छ । लाईनमा घन्टौं बसेर सेयरको आवेदन दिने गरेको समाचारहरु हामीले सुन्दै आएका छौं । त्यस्तै अमेरिकामा पनि साधारण सेयरमा लगानी गर्न सकिन्छ ।

तर, नेपालमा जस्तै साधारण सेयरबाट नाफा हुन्छ नै भन्ने यहाँ हुँदैन(नेपालमा अधिकांस साधारण सेयर नाफामा गएका छन् केही अपवाद बाहेक) अर्थात् तपाईले २० डलरमा किनेको सेयर केही महिनामै ५ डलरमा पनि आउनसक्छ । यसमा पनि कम्पनी र यसको सम्पूर्ण अवस्थाको अध्ययन गरेर लगानी गर्नुपर्ने हुन्छ ।

बजारमा कसरी प्रवेश गर्ने ?

अमेरिकामा सेयर बजारमा लगानी गर्न निकै सजिलो छ । तपाईले घरमा बसीबसी लगानी गर्न सक्नुहुने छ । त्यसको लागि तपाईसँग कानूनी कागजपत्र भने हुन जरुरी छ । बसोबास खुल्ने परिचयपत्र तथा सामाजिक सुरक्षा नम्बर अनिवार्य हुन्छ । तपाईंले आफ्नो मोबाईलमै ब्रोकर कम्पनीको एप्लीकेशन डाउनलोड गरेर अनलाईन फाराम भर्न सक्नुहुनेछ । त्यसको लागि अमेरिकामा धेरै प्रयोग गरिने ब्रोकर कम्पनीहरु ईट्रेड, टिडी अम्रिट्रेड, फिडिलिटी, रोविन हुडलगायतका रहेका छन् । सबै स्टकको कारोबारमा तपाईंले कम्तिमा ५ देखि ७ डलरसम्म कमिसन बुझाउनु पर्नेहुन्छ ।

तर रोविनहुड बाट गरेको कारोबारमा भने कुनै कमिशन लाग्दैन । अनलाईन फाराम भरिसकेपछि तपाईको त्यसको भेरिफाई गर्न केही दिन लाग्नसक्छ । यदि अनलाईन खोल्ने तरिका जानकारी नभएमा नजिकको ब्रोकर कम्पनीको कार्यालयमा गएर पनि अकाउन्ट बनाउन सक्नुहुन्छ । जब भेरिफाई सकिन्छ तपाईले आफ्नो अकाउन्ट लग ईन गरेर सेयर खरिद विक्री सुरु गर्न सक्नुहुने छ ।

सुरुमा यदि तपाईको लगानी २५ हजार डलर भन्दा कम छ भने तपाईले खरिद गरेको सेयर उही दिन बेच्न सक्नुहुन्न (जसलाई डे ट्रेड पनि भनिन्छ) कम्तीमा २५ हजार लगानी गर्नुभयो भने आज केनेर केही दुई घण्टामै बेच्न पनि सकिन्छ । अनुभवको लागि तपाईले थोरै पुँजीबाट पनि सेयर बजारमा प्रवेश गर्न सक्नुहुने छ ।

लेखक  खतिवडा अमेरिकी सेयर बजारको लगानीकर्ता हुन् ।


पुष्प दुलाल