एक–एक जोडेर एघारको नतिजा ल्याउनुपर्छ : चौधरी



नवलपरासी, ११ मंसिर । नेपाली कांग्रेसका नेता एवं उद्यमी विनोद चौधरीले वर्तमान परिस्थितिमा विकास नै आफ्नो पार्टीको एक मात्र उद्देश्य रहेको भन्दै आर्थिक समृद्धि र विकासका लागि नयाँ ढंगले अगाडि बढ्नुपर्ने बेला आएको बताएका छन् ।

सोमबार नवलपुरको अर्खलामा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालमा द्रुत गतिमा विकास गर्नका लागि एक–एक जोडेर एघारको नतिजा ल्याउनुपर्ने अवस्था आएको भन्दै त्यसका लागि आफू दृढतापूर्वक लागिरहेको जानकारी दिए ।

सोही क्षेत्रका मतदाता समेत रहेका चौधरी प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसबाट सिफारिस पनि भएका छन् भने दुम्कौलीमा उनले सञ्चालन गरेको सीजी इण्डस्ट्रियल पार्क समेत रहेको छ ।

उद्योगधन्दामार्फत् देशको विकास गर्नका आफूले सारा जीवन लगाएको स्मरण गर्दै उनले आर्थिक समृद्धि र विकासको लक्ष्य प्राप्ति गर्नैका लागि सक्रिय राजनीतिमा प्रवेश गरेको मतदातासामु बताए ।

लोकतन्त्रमा मात्रै आर्थिक समृद्धि र विकासले गति लिन सक्ने भएकाले आफूले नेपाली कांग्रेसलाई रोजेको भन्दै चौधरीले कांग्रेसलाई जिताएर यस अभियानमा साथ दिन आग्रह गरे ।

सोही क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका लागि लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार डा. सशांक कोइरालासँग उनी निर्वाचन प्रचारप्रसारका सिलसिलामा तेस्रो पटक त्यहाँ पुगेका हुन् ।

कार्यक्रममा मुख्य वक्ता समेत रहेका चौधरीले कालीगण्डकी कोरिडोर निर्माणका लागि कोइरालाले महत्वपूर्ण ढंगले पहल गरेको भन्दै उक्त कार्यलाई सम्पन्न गरेरै छाड्ने बताए ।

कालीगण्डकी कोरिडोरलाई पूर्वपश्चिम राजमार्गमा जोडेपछि विकासले नयाँ गति लिने उनको भनाइ थियो । नवलपुरलाई नमुना जिल्लाका रुपमा विकास गरेर राष्ट्रमा मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमा समेत परिचित गराउने उनले बताए ।

कार्यक्रममा बोल्दै कांग्रेस महामन्त्री सशांक कोइरालाले आर्थिक समृद्धि र विकासको योजनासहित अगाडि बढ्नका लागि आफ्नो पार्टीले चौधरीजस्तो अनुभवी व्यक्तिलाई अघि सारेको बताए ।

चौधरी र कोइराला सोमबार नै नवलपरासीको दुर्गम पहाडी भेगको अर्खलालगायत जौबारी, कोटथर, डाँडाझेरी, डेढगाउँलगायतका स्थानमा पुगेका कार्यक्रममा सहभागी हुनुका साथै मतदातासँग भेटघाट र छलफल गरेका थिए ।


क्लिकमान्डु