भूकम्प प्रभावित जिल्लामा ५० हजारभन्दा बढीलाई आयो रोजगारीको अबसर




काठमाडौं । राष्ट्रिय पुननिर्माण प्राधिकरणले भूकम्प प्रभावित जिल्लामा ५० हजारभन्दा बढीलाई दक्ष कामदार बनाउने प्रक्रिया सुरु गरेको छ । यस्ता जिल्लामा पुननिर्माणको लागि ५० हजारभन्दा बढीलाई तालिम दिएर दक्ष बनाउन लागिएको हो ।

पुननिर्माणको लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले भूकम्प प्रभावित जिल्लाहरुमा ५० हजारभन्दा बढी डकर्मीलाई तालिम दिन लागिएको प्राधिकरणका प्रवक्ता यमलाल भुषालले जानकारी दिए ।

‘दक्ष जनशक्तिको अभावमा पुननिर्माणले अपेक्षित गति लिन सकेको छैन, भूकम्प अति प्रभावित जिल्लाहरुमा ५० हजारभन्दा बढी डकर्मीलाई तालिम दिएर दक्ष बनाउने कार्यक्रम बनाएका छौं,’ प्रवक्ता भुषालले क्लिकमाण्डूसँग भने ।

प्राधिकरणकले सम्बन्धित स्थानीय तहको माग अनुसार आवश्यक जनशक्तिलाई तालिम दिन लागेको हो । अहिले घर बनाउने काम गरिरहेका र यसअघि प्राधिकरणको तर्फबाट वा उसको संयोजनमा तालिम नलिएर नयाँ तर डकर्मी काम गरिरहेकाहरुलाई तालिम दिन लागिएको हो ।

तालिम अबधिभर दैनिक ७ सय रुपैयाँ भत्ता पनि प्रदान गरिनेछ ।

यस्तो तालिम ७ दिनसम्म संचालन गरिने प्राधिकरणको भनाइ छ । स्थानीय तहको सिफारिस अनुसारका ब्यक्तिहरुलाई तालिम दिइने छ भने तालिम अबधिभर दैनिक ७ सय रुपैयाँ भत्ता पनि प्रदान गरिनेछ ।

तालिम कार्यक्रम स्थानीय तहको सिफारिस अनुसार उपयुक्त स्थानमा प्रदान गरिने प्राधिकरणले जानकारी दिएको छ । केही जनशक्तिको लागि गैरसरकारी संस्थाहरुले र बाँकीलाई प्राधिकरण आफैले तालिम दिन लागेको हो ।

यस्तो तालिम कार्यक्रम पुस महिनाभित्रमै सकिसक्ने गरी गृहकार्य अगाडि बढाइएको भुषालले बताए । मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको कारण सम्भव नहुने देखिए पनि पुसभित्रमा तालिम सकिसक्ने प्राधिकरणको भनाइ छ ।


क्लिकमान्डु