अघि बढ्यो कोशी कोरिडोर, २२६ प्रभावितलाई मुआब्जा दिइने



काठमाडौं । पूर्वाञ्चलमा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि महत्वपूर्ण मानिएको कोशी कोरिडोर प्रसारण लाइन निर्माणको प्रक्रिया सुरु भएको छ । कुल २२० केभी क्षमताको उक्त प्रसारण लाइन निर्माणका लागि धनकुटा जिल्लामा मुआब्जा वितरणको काम सुरु गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय धनकुटाले आज एक सार्वजनिक सूचना मार्फत मुआब्जा लिनका लागि प्रभावितलाई सूचना मार्फत आग्रह गरेको हो ।

साविक मारेककटहरे, परेवादिन, ताङ्खुवा, भीरगाँउ, निगाले, बेलहारा, बुढीमोरङ, लुखा, कार्कीछाप, डाँडागाँउका २२६ घर परिवारलाई मुआब्जा लिन आउन सूचना प्रकाशित गरेको हो । सूचना प्रकाशित भएको ३५ दिन भित्र जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न भनेको छ ।

कोशी कोरिडोरमा हाल निर्माण भइरहेका आयोजना र भावी दिनमा निर्माण हुने आयोजनाका लागि अत्वावश्यक मानिएको आयोजनाका लागि उक्त प्रसारण लाइन निर्माण गर्न लागिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

हाल सो कोरिडोरमा हाल ३५० मेगावाट क्षमताका विभिन्न आयोजना निर्माणको चरणमा रहेका छन् । यस्तै निर्माण सुरु गर्ने तयारीमा मात्रै ३०० मेगावाट बढी क्षमताका आयोजना छन् । अनुमतिपत्र लिएर बसेका आयोजनाको क्षमता मात्रै ४०० मेगावाटको हाराहारीमा रहेका छन् ।

लामो समयदेखि चर्चामा रहेको उक्त प्रसारण लाइन निर्माणको काम सुरु हुन नसक्दा ऊर्जा उद्यमी समस्यामा पर्दै आएका थिए । कोशी कोरिडोर प्रसारण लाइन निर्माण नहुँदा नीजि क्षेत्रले निर्माण गर्न लागेका आयोजना समेत पछाडि धकेलिदै आएको थियो ।

जिल्ला प्रशासन कार्यालय धनकुटाले जग्गाको प्रकृतिका आधारमा मुआब्जा निर्धारण हुने जनाएको छ । जिल्ला प्रशासन कार्यालय धनकुटाले जग्गाधनी प्रमाणपत्र पूर्जा, तिरो तिरेको नगद, नागरिकताको प्रमाणपत्रसहित १० रुपैयाँको टिकट टासी आवेदन दिन स्थानीय प्रभावितलाई आग्रह गरेको छ ।


क्लिकमान्डु