केपी ओलीको गाउँका जनता भन्छन्,- गफ गर्नेलाई होइन, काम गर्नेलाई भोट दिन्छौं !



झापा । जिल्लाको मेचीनगर–१० मा त्रिफला राष्ट्रिय पुस्तकालय स्थापना गरेर अन्तर्राष्ट्रिय ख्याति कमाएका ६७ वर्षीया प्रेमप्रसाद पोखरेललाई राजनीतिक दलले दिने गरेको आश्वासनप्रति कहिल्यै विश्वास लाग्दैन । उनी पटक–पटक निर्वाचनमा सहभागी भइन् । तर यो दललाई मतदान गरे वा गर्छु भनेर भनिनन् ।

राज्य पुनः संरचनापछि यसपटक फलाहारीले झापाको निर्वाचन क्षेत्र १ का उम्मेदवारलाई मतदान गर्नुपर्ने हुन्छ । यसपटक पनि कुन उम्मेदवारलाई मतदान गर्छु भन्ने यकिन नगरी सकेको र मतपत्र समातेपछि मात्र निर्णय लिने उनले बताए ।

यस क्षेत्रमा एक लाख छ हजार मतदाता छन् । ती मतदातामध्ये विभिन्न राजनीतिक दलमा प्रतिबद्ध चालिस प्रतिशत पनि छैनन् यहाँका जानकारको भनाइ छ । त्यसले गर्दा यस क्षेत्रसहित झापाका प्रतिनिधि तथा प्रदेशसभाका कुन उम्मेदवारले बाजी मार्छ, त्यो थाहा पाउन निर्वाचनको नतिजा नै पर्खनुपर्ने देखिन्छ ।

विसं २०६४ को संविधानसभाको पहिलो निर्वाचनको स्मरण गर्दै बुद्ध शान्ति गाउँपालिकाका हरि न्यौपानेले  भने, ‘माओवादीको संगठन नै नहुँदा पनि अत्यधिक बहुमतले यो क्षेत्रमा जितेको थियो । त्यसैगरी स्थानीय तहमा झापाका धेरै स्थानमा नेकपा एमालेले जित्दा पनि यो गाउँपालिकामा नेपाली काँग्रेसले बाजी मा¥यो ।’

३० वर्षीय युवा न्यौपानेले थप विस्तार गर्दै भने, ‘वाम गठबन्धन होस् या लोकतान्त्रिक गठबन्धन निर्वाचनको नतिजा नआईकन कुनै अनुमान लाउन सक्ने अवस्था छैन ।’

उनले आफू स्वतन्त्र नागरिक भएकाले आर्थिक समृद्धिलाई ध्यान दिएर जनताको मर्का बुझ्ने उम्मेदवारलाई मतदान गर्ने बताए ।

प्रतिनिधिसभाका लागि पाँच र प्रदेशसभाका लागि १५० ले उम्मेदवारी दिएका छन् । उनीहरुले आफ्नो राजनीतिक दलको चुनावी घोषणापत्र तथा सम्बद्ध पार्टीले लिएको नीति तथा सिद्धान्तका आधारमा आफूलाई प्रस्तुत गरिरहेका छन् ।

नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति नेपाल, मंगोल नेशनल अर्गनाइजेशन, राष्ट्रिय जनमुक्ति पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा, विवेकशील, नेपाल जनता पार्टीसहित स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् । ती राजनीतिक दलले आफ्नै नारा तथा चुनावी एजेण्डा बनाएका छन् ।

प्रथम चरणमा ३२ लाख २८ हजार ८७९ मतदाताले मतदान गर्दैैछन् । त्यसमध्ये झापाका ५ लाख ८५ हजार २३६ मतदाताले ६९२ मतदान केन्द्र तथा २८३ मतदानस्थलमा गएर मतदान गर्दैछन् । यहाँको आठ लाखभन्दा बढी जनसङ्ख्या रहेको यस जिल्लामा दुई लाख २७ हजार जनसङ्ख्या मतदाता परिचयपत्र छैन ।

यो जिल्लाको भौगोलिक तथा ऐतिहासिकस्थलमा मुलुककै सबैभन्दा होचो स्थान केचनाकलन, जमुनखाडी सिमसार क्षेत्र, दोमुखा, शहीद स्मारक पार्क, कलवलगुडी, कञ्चनगढ, वर्ने चिया बगानलाई लिइन्छ ।

यही मंसिर २१ गते हुने निर्वाचनमा राजनीतिक दलले यिनै ऐतिहासिक तथा पर्यटकीय स्थललाई देखाएर निर्वाचनमा भोट माग्ने र यहाँको मुख्य पेशा कृषि भएकाले यस पेशालाई आधुनिकीकरण गर्ने बताएका छन् । राजनीतिक दलका नेताले भौतिक पूर्वाधार तथा औद्योगिक विकासलाई पनि जोडतोडका साथ जनतासमक्ष पेश गरेका छन् ।

यहाँ मुख्य बसोबास रहेको सतार, धिमाल, मेचे, मुण्डा, राजवंशी, जनगाई तथा झापा जिल्लामा मात्रै बस्ने ‘किसान’ जनजातिका नाममा पनि यहाँका उम्मेदवारले आफ्ना राजनीतिक भाषण तथा चुनावी पर्चामा राख्दै आएका छन् ।

राजनीतिक दलका नेताले जेजस्ता भाषण दिए पनि यहाँका जनताले स्वतन्त्र एवम् मुलुकको नेतृत्व गर्ने क्षमतावान् नेतालाई मत दिएर विजयी बनाउने सुरमा देखिएका छन् । संगठितभन्दा पनि सक्षम नेतृत्वको खोजीमा रहेको मेचीनगर बस्दै आएका ७६ वर्षीय प्रेमबहादुर कटुवाल बताउँछन् ।

‘भोट दिनुपर्छ, आफ्नै पार्टीको उम्मेदवारलाई भोट दिनुपर्छ भन्ने छैन,’ उनले भने ।

उनका अनुसार सुकुम्बासीका लागि व्यवस्थित बसोबास, कल्भर्ट, पुल, पक्की बाटो, शिक्षा, स्वास्थ्य झापा जिल्लाका जनताको खास माग होइन । यहाँका जनता खासगरी उच्च शिक्षा र जटिल रोगको निदानका लागि सीमा पार नै जाने गरेका छन् । इलाम र मोरङ जिल्ला तथा यस जिल्लाका १७ वटा स्थानीय निकाय भारतसँग जोडिएका छन् । त्यसैले यहाँका वासिन्दा शिक्षा र स्वास्थ्य सीमा भारततिर भर पर्दै आएका छन् ।

आफूले लामो समयदेखि लागेको पार्टीका नाम नलिईकन कटुवाले पुनः भने, ‘मेरो पार्टी त छँदै छ नि, भोट त काम गर्नेलाई पो दिने हो ।’

उनीजस्तै यहाँका नवयुवाको आवाज पनि यसपटक नयाँ अनुहारलाई नेतृत्वमा पु¥याउने रहेको छ । राजनीतिक आबद्धता र मतदान फरक विषय हो, सोही आधारमा मतदान हुने उनीहरु बताउँछन् । रासस


पुष्प दुलाल