अब सडक भत्काउँदा काठमाडौँ महानगरलाई जानकारी दिनुपर्ने



काठमाडौं । काठमाडौँ मानगरपालिकाभित्र कसैले सडक भत्काएमा सबैभन्दा पहिले महानगरलाई जानकारी दिनुपर्ने छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सडक भत्काउने र बनाउने गरेकै कारण नै स्थानीयवासीले धेरै सास्ती खेप्नुपरेको भन्दै आगामी दिनमा महानगरभित्र रहेका सडक भत्काउँदा महानगरलाई जानकारी दिनुपर्ने बताए ।

‘कहाँको सडक भत्काउँदै हो, कसले भत्काउन लागेको र कहिलेसम्म बनाइसक्ने हो, सबै जानकारी महानगरलाई गराउनुपर्छ,’ प्रमुख शाक्य भने ।

जथाभावी सडक भत्काउँदा सर्वसाधारणले समस्या भोक्नु परेकाले पूर्व जानकारी गरेरमात्र भत्काउन तथा प्राथमिकताको साथ निर्माणको काम गर्नुपर्ने उनको भनाइ छ ।

प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्माको अध्यक्षतामा बसेको बैठकले महानगरको अधिनमा रहेको ८ मिटरसम्मको सडक होस् या सडक विभागले बनाउने ठूला सडक भत्काउँदा निर्माण गर्ने कार्ययोजनासहित महानगरलाई जानकारी दिनुपर्ने निर्णय गरेको थियो ।

सहरको विकास निर्माणको काममा विभिन्न संस्थाको संलग्नता रहेकाले विकासको काम गर्दा समन्वय रहोस् भन्ने उद्देश्यले यस किसिमको अवधारण ल्याइएको शर्माले बताए । रासस


पुष्प दुलाल