वाम गठबन्धन भन्छ- ललितपुर साँस्कृतिक राजधानी



काठमाडौँ । वाम गठबन्धनले ललितपुरलाई ‘साँस्कृतिक राजधानी’ बनाउने लक्ष्यका साथ प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनको प्रचार प्रसार शुरु गरेको छ ।

मुलुकको प्रशासनिक राजधानी काठमाडौँ भए जस्तै कला, संस्कृति एवं नेपाली मौलिकतालाई संरक्षण गर्दै त्यसलाई नेपालको पहिचानका रुपमा स्थापित गर्ने लक्ष्यका साथ सांस्कृतिक राजधानीको प्रस्ताव गरिएको गठबन्धनले जनाएको छ ।

पाटनको कृष्ण मन्दिर, हरिसिद्धि, खोकना जस्ता परम्परागत मन्दिर नेपाली कलाको अनुपम संग्रह रहेको भन्दै गठबन्धनले त्यसको संवद्र्धन, संरक्षण एवं आयआर्जनका लागिसमेत संस्थागत पहल गर्ने लक्ष्यका साथ प्रस्ताव गरिएको गठबन्धनका उम्मेदवार पम्फा भुसालले जानकारी दिए ।

मंगलबजार, खोकना, हरिसिद्धि जस्ता स्थानलाई समेटेर चक्रपथ बनाउने र त्यसलाई नेपालको सांस्कृतिक केन्द्रका रुपमा प्रचार प्रसार गर्ने र नेपाली परम्परागत कलाको सम्बद्र्धन गर्ने लक्ष्य वाम गठबन्धनले राखेको ललितपुर क्षेत्र नं ३ का उम्मेदवार भुसालले बताए ।

सीप तथा कला प्रतिष्ठानको स्थापना, प्राचीन बस्ती तथा गुठीको संरक्षण एवं संवद्र्धन, हस्तकला, मूर्तिकला, चित्रकला र काष्ठकलालाई प्रमूख प्राथमिकतामा राख्ने, त्यस्ता क्षेत्रको स्थापना र प्रवद्र्धनमा जोड दिने उल्लेख छ ।

यस्तै, गठबन्धनले ललितपुरलाई धुलोरहित शहरका रुपमा विकास गर्ने लक्ष्य राखेको छ । आगामी दुई वर्षभित्र ललितपुरका सबै क्षेत्रमा कालोपत्रे सडक, सडक किनारमा हरियाली र मनमोहक बगैँचा निर्माण गर्ने, सुविधासम्पन्न तथा अशक्तमैत्री सार्वजनिक यातायात, ट्राफिक व्यवस्थापनका लागि ‘फ्लाइओभर’ निर्माण गर्ने लक्ष्य गठबन्धनको घोषणापत्रमा उल्लेख छ ।

सातदोबाटो, ग्वार्को र एकान्तकुनामा त्यस्ता फ्लाइओभर निर्माण गरिनेछ । बाग्मती, नख्खु र कर्मनासा कोरिडोरको निर्माण र दुवैतर्फ हरियाली पार्क स्थापना गर्ने, सफा नदी तथा ढलको व्यवस्थामा समेत गठबन्धनले आफ्नो प्रमूख कार्यसूचीका रुपमा राखेको छ । रासस


पुष्प दुलाल