बाम गठबन्धनका उम्मेद्वामाथि किन हुँदैछ श्रृखलाबद्ध आक्रमण ?



काठमाडौं । आफ्ना उम्मेदवारलाई केन्द्रित गरेर आक्रमण हुन थालेपछि वाम गठबन्धनले आपत्ति जनाएको छ ।

निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन सरकार लाग्नुपर्नेमा त्यसो हुन नसकेको भन्दै गठबन्धनले त्यस्तो आपराधिक क्रियाकलाप निन्दनीय र क्षमायोग्य नभएको प्रतिक्रिया दिएको छ ।

गठबन्धनले निर्वाचनको वातावरण बिगार्ने मनशायका साथ भइरहेको त्यस्तो गतिविधि क्षम्य नभएको बताउँदै त्यस्तो अराजनीतिक गतिविधि नगर्नसमेत सम्बद्ध पक्षको ध्यानाकर्षण गराएको छ ।

झापामा निर्वाचन प्रचार अभियानमा रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘वाम गठबन्धनबाट अत्तालिएकाहरूकै योजनामा बम पड्काउने र उम्मेदवारमाथि आक्रमण गर्ने प्रयास भइरहेकामा’ आपत्ति जनाए ।

‘केही मान्छेलाई वाम गठबन्धन मन परेको छैन, बम पड्काइएको छ, हतोत्साही बनाउने प्रयास गरिएको छ, यस्तो क्रियाकलाप हामीलाई सह्य छैन,’ ओलीले भने ।

यस्तै गठबन्धनमा सहभागी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज चितवनमा आयोजित जनसभालाई सम्बोधन गर्दै भने ‘हिजो (शुक्रबार) रुकुममा जनार्दन शर्मामाथि ग्रिनेड हानियो । आज वर्षमान पुन चढेको गाडी नजिक माइन बिस्फोट गराइयो । यो निर्वाचन भाँड्ने मनशायले गरिएको आक्रमण हो ।’

उनले केही दिनअघि बहालवाला मन्त्रीले नै हतियारधारी समूह छुटाउन विज्ञप्ति जारी गरेको भन्दै त्यस्ता घटना सामान्य नभएको बताए । उनले विभिन्न कसरत गरेर पनि निर्वाचन रोक्न नसकेपछि सरकार नै विभिन्न शक्तिलाई प्रयोग गरेर चुनाव रोक्न त खोज्दै छैन भन्ने गम्भीर प्रश्न जन्मिएको आशंका व्यक्त गरे । चुनाव रोक्न खोजिए त्यो हाम्रा लागि मान्य नहुने अध्यक्ष दाहालको भनाइ थियो ।

आक्रमणबारे रासससँग कुरा गर्दै रोल्पाका वाम गठबन्धनका उम्मेदवार पुनले केही तत्वले आफू र बाम गठबन्धनलाई तर्साउन खोजे पनि त्यसबाट आफू नतर्सने बताए । उनले चुनावी अभियान निरन्तर अगाडि बढ्ने बताउँदै नेता तथा कार्यकर्तालाई संयमित भएर अभियानमा लाग्न आग्रह गरे ।

रोल्पाको ओतमा चुनावी अभियानका क्रममा आज बिहान १०ः३० मा अपरिचित व्यक्तिले माइन विष्फोट गराएका थिए । ‘हत्या गर्ने नियतका साथ आक्रमण भएको हो तर हामी आत्तिएका छैनौं,’ उनले भने ।

उम्मेदवार पुन, नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य गोकुल घर्तीलगायत सवार सवारीलाई नै लक्ष्य गरेर विष्फोट गराइएको थियो ।

यसैबीच निर्वाचन आयोगले रोल्पा र रुकुम विष्फोटबारे चासो देखाएको छ । आयोगले शान्ति सुरक्षाको प्रबन्ध गर्न सरकारलाई निर्देशन दिएको छ । आयोगले नेता पुनसँग आक्रमणका बारेमा चासो व्यक्त गरेको छ ।

आयोगले आइतबार उच्चस्तरीय सुरक्षा संयन्त्रको बैठक बोलाएको छ । प्रहरीले केही दिन पहिले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका रोल्पा जिल्ला इन्चार्ज दलहादुर खत्री र सचिव सन्तोष सुवेदीलाई पक्राउ गरेको थियो । प्रहरीले सोही समूहले आक्रमण गराएको हुन सक्ने आशंका गरेको छ ।
उता शुक्रबार आक्रमणमा पर्नुभएका रुकुमका वाम गठन्धनका उम्मेदवार शर्माले मृत्यु जितेर आएकालाई सानातिना आक्रमणले फरक नपार्ने र आक्रमण गर्नेलाई जनताले नै उचित कारबाही गर्ने प्रतिक्रिया दिए ।

‘गठबन्धनबाट आत्तिएका शक्तिले निर्वाचनविरुद्ध अनेकन हर्कत गरेका छन् । आक्रमण गरेर उम्मेदवारलाई तर्साउन खोजिएको छ तर त्यस्तो क्रियाकलापले हामी तर्सदैनौँ,’ विनाविभागीय मन्त्री शर्माले भने ।

महराले गरे निन्दा

उपप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का नेता कृष्णबहादुर महराले वाम गठबन्धनका उम्मेदवारमाथि शृङ्खलाबद्ध रुपमा भइरहेको आक्रमणको निन्दा गरेका छन् ।

दाङ क्षेत्र नं २ का उम्मेदवार महराले रोल्पा र रुकुमका उम्मेदवारमाथि भइरहेको आक्रमणको विज्ञप्तिमार्फत भत्र्सना गरे । रुकुममा शुक्रबार वामपन्थी गठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार शर्मा र रोल्पामा पुन चढेको गाडीलाई लक्ष्य गरी बम विष्फोट गराइएको र रोल्पामै प्रदेशसभा सदस्य उम्मेदवार कुलप्रसाद केसी चढेको गाडीमाथि ढुंगामुढाको प्रयास भएको थियो ।

नेता महराले निर्वाचन सफल बनाउन थप गम्भीर हुँदै सबै उम्मेदवार र मतदाताको पूर्ण शान्ति सुरक्षाको प्रबन्ध मिलाउन गृह प्रशासनको ध्यानाकर्षण गराएका छन् । उनले घटनाप्रति आतंकित नहुन तथा संयम र धैर्यका साथ संविधान कार्यान्वयनको अभियानमा सक्रिय सहभागिता जनाउन जनसमुदायमा आग्रह गरेका छन् । रासस


पुष्प दुलाल