झण्डाको ब्यापार, कम्युनिष्टकोभन्दा काँग्रेसको झण्डा महंगो




काठमाडौ । चुनावको मिति नजिकिएसँगै झण्डाको माग अत्याधिक बढेको छ । सबै राजनीतिक दलले चुनाबको बेलामा झण्डाको प्रयोग अत्याधिक गर्ने गरेका कारण माग बढेको ब्यापारीहरु बताउँछन् ।

नेपाली काँग्रेस, एमाले तथा माओबादी केन्द्र जस्ता ठूला राजनीतिक दलको झण्डा बनाउन बढी अर्डर आउने गरेको ब्यापारीहरुको भनाइ छ ।

निर्वाचन आयोगले ब्याच र क्याप लगायतको सामाग्रीको प्रयोगमा रोक लगाएपछि झण्डाको माग अझ बढेको छ ।

झण्डाको साइज अनुसार यसको मूल्य निर्धारण हुन्छ । झण्डा बनाउनेहरुले दिएको जानकारी अनुसार कम्युनिष्ट पार्टीहरुको भन्दा नेपाली काँग्रेसको झण्डा महंगो पर्ने गरेको छ ।

एमाले र माओवादी पार्टीको २ मिटरसम्मको झण्डा १५० रुपैयाँ पर्छ । नेपाली काँग्रेसको सोही साइजको झण्डाको मूल्य भने प्रतिगोटा १८० रुपैयाँ पर्ने गरेको छ । नेपाली काँग्रेसको झण्डा एकसरो नभइ जोड्न पर्ने भएकाले मूल्य अलि बढि परेको ब्यवसायीहरुको भनाइ छ ।

आगामी मंसिर १० र २१ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । निर्वाचनको मिति नजिकिदै गर्दा दलहरुले प्रचार प्रसारलाई अझ ब्यापकता दिने भएकोले चुनाब नजिकिदै गर्दा झण्डाको माग बढ्ने गरेको छ ।

‘अहिले पनि झण्डाको अर्डर राम्रै आइरहेको छ, अर्को हप्ताबाट झण्डाको माग थप बढ्ने छ,’ बागबजारमा झण्डा बनाउदै गरेका शंकर मानन्धरले भने ।

यस्तै डेढ मिटरसम्मको कम्युनिष्ट पार्टीको झण्डा प्रतिगोटा २० रुपैयाँमा बिक्ने गरेको छ । काङ्ग्रेसको सोही साइजको झण्डाको मूल्य भने प्रतिगोटा ५० रुपैयाँ पर्छ ।

निर्वाचन आयोगले पार्टीको ब्याच प्रयोगमा प्रतिबन्ध गरेको छ । प्रतिवन्ध हुनु अगाडि ब्याच प्रतिगोटा १५ रुपैयाँदेखि २० रुपैयाँसम्म पथ्र्याे ।

बागबजारमा नेपाली काँग्रेसको झण्डा बनाउने अर्डर बढी आउने गरेको ब्यापारीहरु बताउँछन् ।

‘यहाँ अरु पार्टीकोभन्दा काङ्ग्रेसको झण्डाको बढि माग हुन्छ,’ बागबजारमा झण्डा बनाउँदै गरेकी रमा तिमल्सिनाले भनिन् ।

पार्टीको माग अनुसार झण्डा जाने भएकाले दैनिक यति नै जान्छ भन्ने एकिन गर्न नसकिने उनको भनाइ छ ।

यसैगरी काङ्ग्रेस, एमाले, माओवादी केन्द्र्र बाहेकका अरु पार्टीहरुको झण्डाको माग भने त्यति धेरै छैन । झण्डाको माग अनुसार मूल्यमा सामान्य हेरफेर हुने ब्यापारीहरुको भनाइ छ ।


क्लिकमान्डु