आर्थिक विकासको मेरुदण्ड लघु, घरेलु तथा साना उद्योगः उद्योगमन्त्री थापा




काठमाडौं । उद्योगमन्त्री सुनिलबहादुर थापाले लघु, घरेलु तथा साना उद्योगबाटै देशको अर्थतन्त्र फष्टाउने भन्दै यस्ता उद्योगको विकास अहिलेको अपरिहार्य आवश्यकता रहेको बताएका छन् ।

आर्थिक विकासको मेरुदण्ड लघु, घरेलु तथा साना उद्योग नै ठूला उद्योगको आधारस्तम्भ भएकाले देशमा यस्ता उद्योगको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिंदै उनले भने –‘मेरो लगाव पनि यस्ता उद्योगहरूसँग भएकाले देशका लागि यिनको योगदान मैले महसुस गरेको छु, देशको आर्थिक उन्नतीमा योगदान पुर्याउँदै आएका यस्ता उद्योगको प्रवद्र्घनका लागि ऋृण सहुलियतदेखि के के कुरामा सहयोग पुर्याउन सकिन्छ आउनुस छलफल गरौं ।’

लघु, घरेलु तथा साना उद्योगको वर्तमान अवस्था र अवसरका विषयमा नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँग मन्त्रालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन । निर्यातको ८० प्रतिशत घरेलु उद्योगबाट निर्यात हुने गरेको जानकारी गराउँदै उनले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने मुख्य माध्यम बनेका यस्ता उद्योगको विकास र यिनका उत्पादनहरूको बजारीकरणका लागि सरकारले उच्च प्राथमिकताका साथ ध्यान दिएर अगाडि बढेको उनले प्रष्ट पारे ।

उद्योगीहरुले भोग्नु परिरहेको अन्तर मन्त्रालय समन्वयका समस्याहरुलाई अबका दिनहरुमा उद्योग मन्त्रालय मार्फत सहजीकरण हुने व्यवस्था मन्त्रालयले मिलाउन लागिएको पनि जानकारी गराए । मन्त्री थापाले उद्योगहरुले आर्थिक बृद्धिमा पुर्याईरहेको योगदानलाई बढाउन औद्योगिक विकास तथा रोजगारी सृजना गर्न आवश्यक भएको बताए । विदेशमा काम गरिरहेका नेपालीहरु नेपाल फर्किसकेपछि यहाँ काम नपाउने अवस्था आएमा त्यसले समाजमा समेत नकारात्मक असर पर्नेतर्फ उद्योगी व्यवसायी समेत सचेत रहन उनले आग्रह गरे ।

निजी क्षेत्रको विकल्प नभएको भन्दै उहाँले निजी क्षेत्रसँग सरकारको समन्वयलाई प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए । त्यसका लागि आवश्यक ऐन कानुन पनि सरकारले तयार गर्ने उनले प्रतिबद्धता व्यक्त गरे।

हालको चुनौति नीतिगत सुधार रहेकाले यसलाई प्राथमिकतामा राखेर अघि बढ्ने र यसका लागि निजी क्षेत्रले समेत महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । हाल निजी क्षेत्रले भोग्नु परेका समस्याहरुलाई विद्यमान नीतिगत व्यवस्थाभित्र रहेर तत्काल सम्बोधन गरिने र दीर्घकालिन महत्वका विषयलाई क्रमशः नीतिगत तहबाट हल गर्दै लैजाने उनले विश्वास दिलाए । सो अवसरमा मन्त्री थापाले आत्मनिर्भर अर्थतन्त्र निर्माण र स्वच्छ औद्योगिक वातावरण सृजना गर्न क्रियाशील रहेका लघु, घरेलु तथा साना उद्योगीहरूसँग आपसी सहकार्य गरेर नै आफू अघि बढ्ने कुरामा ढुक्क हुन महासंघ प्रतिनिधि मण्डललाई आग्रह गरे ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले नेपालका लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्घनका लागि सरकारले ल्याएको सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्ने विषय कागजमै सीमित रहेको गुनासो गरे । स्वदेशी उत्पादनको संरक्षण र प्रवद्र्धन उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यसहित सरकारले निर्देशिका ल्याए पनि त्यो हालसम्म कार्यान्वयनमा जान नसकेको भन्दै उनले निर्देशिकाको अक्षरस पालना गराउन मन्त्री थापा समक्ष आग्रह गरे ।

स्थानीय स्तरमा उपलब्ध स्रोतसाधनको उपयोग गरी परम्परागत कृषि र विप्रेषणमा आधारित अर्थतन्त्रलाई औद्योगिकीकरणमा उन्मुख गराउने उद्देश्यले सरकारले ल्याएको उक्त रणनीति कार्यान्वयन गराउन सके अर्थतन्त्रमा लघु, घरेलु तथा साना उद्योगको योगदान ह्वात्तै बढ्ने अध्यक्ष गिरीको भनाई थियो ।

महासंघको प्रतिनिधिमण्डलमा पूर्व अध्यक्ष वासु गिरी, वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद सिंह, उपाध्यक्ष मोहन कटुवाललगायतको सहभागिता रहेको थियो ।


पुष्प दुलाल