म धेरै बोल्न जान्दिनँ, काम गर्न जान्दछु, काम गर्छुः सोनाम लामा




अमेरिकामा ब्यबसाय गरिरहेका सोनाम लामा एनआरएनए अभियानमा लागेको ८ बर्ष भइसकेको छ । आफ्नो जन्मभुमी नेपालप्रति बढी नै सम्बेदनशील देखिने लामा एनआरएनए अभियानका हरेक गबिधिमा संलग्न हुदै आएका छन् । एनआरएनए अमेरिकाको संयोजक भइसकेका लामा एनआरएनएको ८औं विश्व सम्मेलन तथा अधिबेशनमा उपाध्यक्षको प्रत्यासी बनिरहेका छन् । लामासँग उनको उम्मेदवारी किन, उपाध्यक्ष बनेपछि उनले के कस्ता कामहरुलाई प्राथमिकता दिने छन् भन्ने जस्ता समसामयिक विषयमा क्लिकमाण्डूले गरेको कुराकानीको अंशः

एनआरएनएको आगामी अधिवेशनको लागि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ, किन त्यही पद रोज्नुभयो ?
हामी एनआरएनएको अभियानमा लागेको लामो समय भयो । यो संस्थामा रहेर योगदान गर्नुपर्छ भन्ने छ । म अमेरिकामा बस्ने एनआरएन भएको कारण एनआरएनए अमेरिकाको गतिबिधिमा म संलग्न हुदै आएको छु । ४ बर्ष एनआरएनएको आइसीसी सदस्यको रुपमा काम गर्दाको, एक बर्ष क्षेत्रीय उपसंयोजकको रुपमा काम गरेको र २ बर्ष क्षेत्रीय संयोजकको रुपमा काम गर्दाको मेरो अनुभव र कार्यशैली देखेर साथीहरुले मलाई उपाध्यक्ष पदमा जान मलाई दबाब र सुझाव दिनुभयो । एनआरएनएको उपाध्यक्षमा अमेरिकाले नेतृत्व लिनुपर्छ भन्ने साथीहरुको भावना अनुसार नै मैले यस्तो घोषणा गरेको हो ।

उपाध्यक्षमा निर्वाचित भएपछि तपाइले गर्ने प्रमुख कामहरु केके हुन् ?
अमेरिकाको न्यूजर्सीमा भएको क्षेत्रीय सम्मलेनले नयाँ घोषणापत्र जारी गरेको छ । त्यो घोषणा नै एनआरएनए भिजन ट्वान्टी ट्वान्टी वियोन्ड हो । त्यो घोषणालाई पारित गराउनु पर्नेछ । त्यसलाई पारित गराउन म हरदम पहल गर्नेछु । यस्तै गोर्खाको लाप्राकमा एनआरएनएले नमुना आवाश बनाइरहेको छ । त्यसलाई नमुना आवाशकै रुपमा बनाउनु पर्छ भन्ने मेरो कुरा छ ।

अहिलेसम्म एनआरएनएको आफ्नै कार्यालय छैन । नेपाल उद्योग बाणिज्य महासंघको भुइतलामा यसको कार्यालय राखिएको छ । एनआरएनएको आफ्नै कार्यालय भवन हुनुपर्छ भन्ने आम एनआरएनको मान्यता छ । त्यही मान्यता अनुसार हामीले जग्गा पनि खरिद गरेका छौं । एनआरएनएको भबन बनाउन जग्गा खरिद गर्ने कार्यको संयोजकको जिम्मेवारी मलाई दिइएको थियो । त्यो जिम्मेवारी पूरा गरेको छु । अहिले भबन निर्माणको प्रक्रिया चलिरहेको छ । त्यो जग्गामा आफ्नै भबन बनाउने कार्यलाई मैले प्राथमिकता दिएको छु । भबन निर्माण कार्य पूरा गर्छु ।

यो संस्थामा आवद्ध भएको ८ बर्ष वितिसकेको छ । यो बीचमा हामीले एनआरएनको नेपाली नागरिकताको निरन्तरताको कुरा उठाइरहेका छौं । नेपालको संबिधानले सो बिषयलाई सम्बोधन गरेको छ । तर कानुनी आधारहरु अझै तयार भइसकेका छैनन् । यो बिषयमा कानुन बनाउन सरकारसँग समन्वय गर्ने मेरो योजना र कार्यक्रम हो ।

अहिले दैनिक ठूलो संख्यामा नेपालीहरु बिदेश गइरहेका छन् । उनी रोजगारी खोज्दै विदेश गएका हुन् । म आफैले नेपालमा २/३ वटा नयाँ होटल खोल्नको लागि काम गरिरहेको छु । नेपालीले नेपालमै रोजगारी पाउनु पर्छ भन्ने मेरो मान्यता हो । बैदेशिक रोजगारीमा जानेहरुको बिजोग छ । काम पाए पनि कम तलबमा काम गरिरहेका छन् । उनीहरुलाई सकेसम्म नेपालमै रोजगारी सिर्जना गर्ने र त्यो सकिएन भने पनि शीप र दक्षता दिने भन्ने मेरो योजना हो ।

एनआरएनएले अहिले सार्बजनिक बहसमा ल्याएको भिजन ट्वान्टी ट्वान्टीको संस्थागत संरचनाको बिषयमा तपाइको धारणा के हो ?
त्यसमा केही बिबाद छैन । एक दुई जनाबाट केही कुराहरु बाहिर आएको हो । भित्र हेर्यो भने केही बिबाद छैन । केही ब्यक्तिहरुले कुरा नबुझेर बिबाद जस्तो देखिएको मात्रै हो । अहिले जुन प्रस्ताव आएको छ, एनआरएनएको लागि त्यो आवश्यक छ । अहिले एनआरएनए धनीहरुको संस्था हो, धनी ब्यक्तिले मात्रै त्यसको नेतृत्वमा जान सक्छ भन्ने आरोप लागिरहेको छ । भिजन ट्वान्टी ट्वान्टी पारित भएर लागू भएपछि यसले संस्थामा एउटा प्रणाली स्थापित गर्छ । त्यसपछि पैसा नभएपनि योग्यता र क्षमता भएका ब्यक्तिहरुले संस्थाको नेतृत्व गर्न पाउने र सक्ने वातावरण बन्छ ।

तपाइ उपाध्यक्ष बन्नुभएपछि एनआरएनहरुको लागि के कस्ता कामहरु गर्नुहुन्छ ?
एनआरएनए नेपालको परराष्ट्र मन्त्रालय मार्फत दर्ता भएको संस्था हो । त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट बिदेश गएर २ बर्ष बसेपछि ती सबै नेपाली एनआरएन हुन्छन् । एनआरएनएको सदस्यता लिएको ब्यक्तिसँग भोटिङ राइट हुन्छ, नेपालमा प्रतिनिधि भएर सम्मेलनमा भाग लिन पाइन्छ । तर, बिदेशमा बसेका सबै नेपाली (हाम्रा सदस्य भए पनि वा नभए पनि) लाई कुनै प्रकारको समस्या पर्यो भने एनआरएनएले सक्दो सहयोग गर्ने गरेको छ ।

भिजन ट्वान्टी ट्वान्टी पारित भएर लागू भएपछि यसले संस्थामा एउटा प्रणाली स्थापित गर्छ । त्यसपछि पैसा नभएपनि योग्यता र क्षमता भएका ब्यक्तिहरुले संस्थाको नेतृत्व गर्न पाउने र सक्ने वातावरण बन्छ ।

मलेशिया, मध्यपूर्व तथा अफ्रिकी मुलुकमा पुगेर समस्यामा परेका धेरै नेपालीलाई हामीले भोलेन्टियर्ली सहयोग गरेका छौं । अब म नेतृत्वमा पुगेपछि के गर्छु भने बिदेशमा पुगिसकेका र समस्यामा परेका हरेक नेपालीलाई सक्दो सहयोग गर्नेछु । र, त्योसँगै नेपालीलाई नेपालमै रोजगारीको अबसर प्रदान गर्न क्षमता अभिबृद्धिका कामहरु गर्नेछु । नेपालमा लगानी भित्र्याउन बिशेष पहल गर्छु । यस्तै युरोप अमेरिकातिर भएका एनआरएनका दोस्रो पुस्तालाई नेपाल र नेपाली नबिर्सउन भन्नको लागि हाम्रो संस्कृति र संस्कार सिकाउने काम गर्छु । एनआरएनका सन्ततिलाई नेपाल ल्याउने र नेपालबारे सकारात्मक बनाउन कार्यक्रमहरु गर्ने मेरो योजना छ ।

नेपालमा बिदेशी र एनआरएनकै लगानी भित्र्याउन पनि तपाइ उपाध्यक्ष भइसकेपछि राज्य संयन्त्रसँग मिलेर के कस्ता कार्यक्रमहरु गर्ने सोच बनाउनु भएको छ ?
नेपाल हाम्रो जन्मुभुमी हो । यहाँ कुनै पनि प्रकारको दुख वा समस्या भयो भने हाम्रो चित्त दुख्छ । संकटको बेलामा सकेको सहयोग गरौं भन्ने भावना जागृत हुन्छ । भूकम्पको बेलामा, नाकाबन्दीको समयमा र पछिल्लो समय बाढी पहिरोको प्रक्रोपबाट पीडितलाई एनआरएनले गरेको सहयोग र देखाएको सद्भावले पनि यो कुरा अनुभूत तपाइ नै गर्न सक्नुहुन्छ । बिदेशमा एसिमा बसेर काम गरिरहेका हामीहरु भर्खरै बाढी पीडितलाई राहत बाढ्न बिमानस्थबाट नै सप्तरी पुगेका थियौं । एसिमा बसेर काम गरिरहेको ब्यक्ति एकै चोटी ३८ डिग्रीको तापक्रममा गएर काम गर्दा पक्कै पनि असहज भयो होला । तर हामीले यस्तो सोचेनौं । महसुस गरेनौं । सकेको सहयोग गर्न पाउँदा गौरबको अनुभव गर्यौं ।

सबैले जित्नकै लागि चुनाब लड्ने हो । तर, जित्ने र हार्ने सम्भावना उत्तिकै हुन्छ । मलाई सबैले चिन्नु भएको छ । म ८ बर्षदेखि यो संस्थामा आवद्ध भएर काम गरिरहेको छु । मेरो कार्यशैली सबैलाई थाहा छ । म आज यो संस्थामा आएको होइन ।

दोस्रो कुरा हामी बिदेशमा बस्दा केही सिक्यौं होला, केही कमायौं होला र केही जान्यौं पनि होला । त्यसरी सिकेको, कमाएको र जानेको कुरा नेपालमा ल्याउनु पर्छ, ल्याउदै छौं । त्यसका लागि म हरदम प्रयास र पहल गर्छु । हामीले पर्यटन तथा जलविद्युत क्षेत्रमा धेरै लगानी गरिरहेका छौं । अझै पनि सामुहिक लगानीको माध्यमबाट नेपालमै रोजगारी सिर्जना गर्ने र नेपाललाई विकासको गतिमा अगाडि बढाउन आफ्नो बुताएले भ्याएसम्म सहयोग गर्ने मेरो योजना हो ।

चुनाब जित्नुहुन्छ होला ?
सबैले जित्नकै लागि चुनाब लड्ने हो । तर, जित्ने र हार्ने सम्भावना उत्तिकै हुन्छ । मलाई सबैले चिन्नु भएको छ । म ८ बर्षदेखि यो संस्थामा आवद्ध भएर काम गरिरहेको छु । मेरो कार्यशैली सबैलाई थाहा छ । म आज यो संस्थामा आएको होइन । एनआरएन र एनआरएनएलाई चाहिएको बेलामा म जुन बेला पनि उपस्थित भएको छु । म धेरै बोल्न जान्दिनँ । काम गर्न जान्दछु । काम गर्ने हो । काम गर्छु । नेपालप्रति मलाई माया छ । एनआरएनएप्रति मलाई माया छ । नेपालीप्रति मलाई माया छ । नेपाल, नेपाली र एनआरएनएलाई राम्रो हुने काम गर्छु । यो कुरा एनआरएन साथीहरुलाई पनि थाहा भएकोले मेले चुनाब जित्छु होला । केही कसैगरी चुनाब जितिन भने पनि म यो संस्थालाई अहिलेको जस्तै गरी साथ र सहयोग प्रदान गरिरहने छु ।


क्लिकमान्डु